
विराटनगर । एएफसी एसियन च्याम्पियनसिप छनोटअन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोली लाओससँग पराजित भएको छ ।
घरेलु मैदानमा लाओसले नेपाली टोलीलाई २–१ गोल अन्तरमा पराजित गरे हो । विगत ६ खेलमा अपराजित नेपाली टोलीले पहिलो पटक लाओसविरुद्ध हारको सामना गरेको हो ।
मंगलबार लाओस स्टेडियम केएम १६ मा भएको खेलमा नेपाली टोलीविरुद्ध लाओसका लागि खेलको १३ औँ मिनेटमा मध्यपंक्तिका दामोथ थंगखामसाभातले गोल गरे । कर्नर किकमा पाएको अवसरलाई दामोथले डि बक्सभित्रबाट हेड गर्दै गोल गरेका थिए ।
सुरुवातबाटै आक्रामक रुपमा मैदानमा प्रस्तुत भएको लाओसका लागि दर्शकको साथ मैदानमा देखिएको थियो । सोही क्रममा खेलको ३० औँ मिनेटमा नेपालका लागि रक्षापंक्तिका विमल पाण्डे घाइते भएर मैदान बाहिरिए । उनको स्थानमा सुमन श्रेष्ठ मैदानमा प्रवेश गरे ।
त्यसैगरी, खेलको ३८ औँ मिनेटमा एरिक विष्टले डिबक्स नजिकबाट हेड गरेको बल पोष्ट बाहिर भएको थियो । नेपालले खेलको ४२ औँ मिनेटमा डिबक्स नजिक पाएको फ्रि किकमा अग्रपंक्तिका आयुष घलानको प्रहार फितलो भएको थियो । उनको प्रहार लाओसको वालले रोक्न सफल भयो ।
पहिलो हाफमा एक शून्यले अग्रता बनाएको लाओसले दोस्रो हाफमा थप सशक्त खेलको प्रदर्शन गरेको थियो । पहिलो हाफमा मैदानमा हताश देखिए पनि दोस्रो हाफमा भने सम्हालिएको थियो । दोस्रो हाफमा नेपाली टोलीले केही राम्रा अवसरसमेत बनाएको थियो ।
यद्यपि, खेलको ४७ औँ मिनेटमा नेपाली रक्षापंक्ति चिर्दै लाओसका पिटर पान्थामोंगले गोल गरे । खेलको ६२ औँ मिनेटमा अञ्जन विष्टको स्थानमा अर्का अग्रपंक्तिका जिलेस्पीजंग कार्की मैदानमा प्रवेश गरे ।
२ शून्यले पछि परेको नेपालका लागि खेलको ७४ औँ मिनेटमा गोलका लागि अवसर बनेको थियो । डिबक्सभित्र अग्रपंक्तिका मनिष डाँगीलाई लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।
सो क्रममा डाँगीले पेनाल्टीको सही सदुपयोग गर्दै गोल गरे । समग्रमा अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरेका डाँगीले लाओसविरुद्ध तेस्रो गोल प्रहार गरेका हुन् । गोल गरेलगत्तै टोलीका मुख्य प्रशिक्षक म्याट रसले डाँगीलाई बाहिर राखेर कृतेशरत्न छुन्जुलाई मैदानमा प्रवेश गराएका थिए ।
खेलको ८६ औँ मिनेटमा अग्रपंक्तिका घलान डिबक्स बाहिर राम्रो स्थानबाट लाओसमाथि आक्रमण गर्नबाट रक्षापंक्तिद्वारा रोकिए ।
पराजित भएसँगै नेपालका मुख्य प्रशिक्षक म्याट रसले लाओसले राम्रो खेल खेलेको बताए । टोलीका लागि निराशाजनक क्षण भएको बताउँदै उनले हङकङसँग राम्रो खेलको प्रदर्शन गरे पनि घरेलु मैदानमा लाओसको प्रदर्शन राम्रो रहेको प्रस्टाए ।
जित हात पारेकोमा लाओसलाई शुभकामना दिँदै प्रशिक्षक रसले गल्तीबाट सच्चिनु पर्नेमा जोड दिए । हारले आफूहरूलाई दण्डित गराएको बताएका उनले काउन्टर अट्याकमा लाओस बलियो देखिएको प्रस्टाए ।
उनले भने, ‘हामीले ५ दिनअघि हङकङमा जस्तो आपसी समन्वय गर्न सकेनौँ । योजनाबद्ध भएर काममा केन्द्रित हुन सकेनौँ । त्यसमाथि लाओसले छिटो र खेलमा गति पक्रियो । जसका कारण पहिलो हाफमा हामीले धेरै रिकभरी गर्न सकेनौँ । लाओस काउन्टर अट्याकमा बलियो रहेको छ । यद्यपि, हारसँगै अब घर फर्किएर धेरै कुरा गर्नुपर्ने छ ।’



















