शारीरिक सुगठनमा पदक विजेता खेलाडीलाई राखेपको बधाई 

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १, आइतबार १५:००

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १५ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आइतबार स्वागत गरेको छ ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै सफलताका लागि बधाई दिए ।

त्यसअघि आइतबारै टोलीलाई कार्यकारी समितिका सदस्य भट्टराई, नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थसहित पदाधिकारी, खेलाडी, प्रशिक्षक, शुभचिन्तक, परिवारजन लगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

भुटानको थिम्पुमा जेठ ३० देखि ३१ गतेसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ रजत जितेको थियो । नेपालबाट ३ पुरुष र २ महिला गरी ५ खेलाडीले सहभागिता जनाएका थिए ।

महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन् । सोही स्पर्धामा सिला ठकुरीले रजत पदक जितिन् ।

पुरुष ५५ केजी तौल समूहमा शरद सुवालले रजत तथा पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर मुनी अवतार श्रेष्ठले रजत पदक जिते । पुरुष स्पोर्टस् फिजिक १७५ सेन्टिमिटर माथि प्रनिश श्रेष्ठ ५ औं स्थानमा रहे ।

स्वागत कार्यक्रममा सदस्यसचिव घिसिङले शारीरिक सुगठनले राष्ट्रलाई चिनाउने क्रममा थ्रुपै अन्तर्राष्ट्रिय पदक जितिसकेको बताउँदै पदक जितेर सारा नेपालीलाई खुसी बनाएकोमा खेलाडीलाई बधाई दिए । उनले शारीरिक सुगठन खेल बारे भने, ‘यो खेलको विशेषता र परिचय भनेकै खाली हात नआउने खेल हो ।’

शारीरिक सुगठन महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायस्थले हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा शारीरिक सुगठनले राष्ट्रलाई पदक दिलाउँदै आएको स्मरण गरे ।

टोलीसँगै अफिसियलका रूपमा भुटान गएका शारीरिक सुगठनका सचिव दिनुशकुमार राज भण्डारीले सन् २०२७ मा नेपालमा विश्व शारीरिक सुगठन च्याम्पियनसिप आयोजना बारे पनि भुटानमा छलफल भएको जानकारी गराए ।

व्यवस्थापकमा सुरेश सुवेदी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा दीपेन्द्रकुमार प्याकुरेल तथा सहयोगीमा रमेश श्रेष्ठ र बालमुकुन्द अवाल भुटान गएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.