
ठिक यतिबेला
सम्बन्धहरूको प्रयोगशालाबाट
निस्किँदै गरेको समय हो यो
र, आज
तिमीलाई लाग्न सक्छ
अलिकति त पक्कै परिमार्जित भएर निस्किएँ हुँला
किनकि
तिम्रो संकिर्ण सोचाइको परिधिले नै
विद्रोही हुन सिकाएको हो मलाई
तिम्रो कुटिल बुझाइको रेखा गणितले नै
जीवन प्रति गम्भीर बन्न सिकाएको हो मलाई
तिम्रो सतही हेराइको आयतनले नै
भ्रमको पर्दा च्यातेर यो दुनियाँलाई
आफ्नै आँखाले विचरण गर्ने बनाएको हो मलाई ।
नत्र त यहाँ
हिम्मतको हिमशिखर त्यतिकै कहाँ चुलिदोरहेछ र ?
पिडाको पिरामिड त्यतिकै कहाँ भत्किदोरहेछ र ?
उत्कण्ठाको आवाज त्यतिकै कहाँ बुलन्द हुदोरहेछ र ?
उन्मुक्त आकाशमुनि त्यतिकै कहाँ वेग मार्न सकिदोरहेछ र ?
अब उप्रान्त मैले
कसैको आग्रह अनुग्रहको बन्दी हुनुपर्दैन ।
कसैको प्रश्न प्रतिप्रश्नहरूको घेराबन्दीमा
कैद हुनु पर्दैन ।
न कसैको भरोसाको जन्जिरमा बाँधिएर बस्नुपर्नेछ ।
न कसैको नजरमा ठाउँ बनाइरहनुपर्नेछ ।
न त कसैको नजरअन्दाजसंग डराउनु नै पर्ने छ ।
अर्थ्याउनेहरूले त
कसलाई पो बाँकी राखेका छन् र ?
यद्यपि
तिमीलाई लाग्दो हो
अब म नितान्त एक्लो भएँ
तर यो नसोच्नु कि एक्लो हुनु भनेको एक्लै हुनु हो ।
एक्लो हुनु भनेको त
सम्भावनाका हजार ढोका खुल्नु हो ।
एक्लो हुनु भनेको त
बल्ल आफू आफ्नै अधीनमा हुनु हो ।
एक्लो हुनु भनेको त
स्वतन्त्र वनचरी जस्तो हुनु हो ।
र एक्लो हुनु भनेको
कविताका एक एक हरफमा आफूलाई निर्बाध लेख्न सक्नु हो ।



















