
क्याफेको पल्लो कुना,
जहाँ बालक होइन,
एउटा राज्य घोत्लिएको छ
चुरोटको धुवाँमा, मोबाइलको झिल्कोमा ।
१३–१४ वर्षका हातहरू
पढ्नुपर्ने किताब होइन,
वियरको बोतल समात्छन्
किनकि पाठशालाको गेट
कहिल्यै उनीहरूका लागि खुलेन ।
बा ले आफ्नै देशमा
रगत पसिना बगाए
त्यही पनि
साँझ खाए, बिहान के खाने ?
यहाँ ‘शिक्षा नीति’ का पानाहरू
मन्त्रीको कोठामा चुस्किएको कफीसँगै बिर्सिए।
बालबालिकालाई उज्यालो भविष्य भनेर
भित्ताभरि टाँसिएका पोस्टरहरू
तीन वर्षदेखि भाडामा काम गर्ने
बाबु नानीहरू हेर्दैनन्।
राज्यको छायामा उम्रेका ती किशोर,
कसको भविष्य हुन् ?
राज्यका भाषणमा पर्दैन
उनीहरूको नाउँ, न त आवाज ।
बालविवेकको उमेरमा
राजनीति त सुतिरह्यो
तर उनीहरूको चेत मरेको छैन,
एक दिन राजनीतिक चेत उठ्नेछ,
त्यो धुवाँ हटाएर,
र भन्छे छ ए शासक
अब अनुभवको प्रमाणपत्र दे….
०००



















