
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञानको आदिम केन्द्र नेपाल भएको दाबी गरेका छन्। उनले नेपालमा आजभन्दा ३ हजार वर्षअघिदेखि नै शल्यक्रिया (सर्जरी) अभ्यास सुरु भइसकेको दाबी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा विस्तारित सेवा भवनको सोमबार उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो चिकित्सा विज्ञान शास्त्र, ज्ञान र अभ्यासको विश्वमै सबैभन्दा पुरानो इतिहास यही भू–भागमा छ।’ उनका अनुसार एलोपेथिक चिकित्सा पद्धतिको प्रणेता मानिने हिप्पोक्रेटस २४ सय वर्षअघिका हुन् ।
तर, नेपालको चतरामा सुश्रुतले ३ हजार वर्षअघि नै सर्जरी सुरु गरिसकेको उनको भनाइ छ । ओलीले भने, ‘सुश्रुतले खेल्दाखेल्दै साथीको औंलो छुटेपछि पुनः जोडेका थिए भन्ने दृष्टान्त पनि पाइन्छ।’
प्रधानमन्त्री ओलीले जनसंख्या कम भएका कारण सुश्रुतले पछि बनारस गएर शल्यक्रियाको अभ्यास अगाडि बढाएको र मानव जातिको सेवा गरेको बताए। उनले नेपालमा आर्य सभ्यताको गहिरो इतिहास रहेको जिकिर गर्दै जनक, पाणिनी, चरकजस्ता विद्वान यही भू–भागका भएको दाबी गरे।
‘पाणिनी चरकका सन्तान हुन् । अथवा चरक अर्घाखाँचीका थिए भने पाणिनी पनि त्यहीँकै थिए,’ उनले भने, ‘चरकलाई आयुर्वेदका जनक मानिन्छ। त्रेतायुगमा लक्ष्मण मूर्छित हुँदा हनुमानले संजीवनी बुटी ल्याएर जीवन फर्काएका थिए । त्यसबेला पनि स्वास्थ्य विज्ञान यहाँ सक्रिय थियो।’
प्रधानमन्त्री ओलीका अनुसार ‘उसबेला प्रोफेसरजस्तै ज्ञान भएका ऋषिमुनिहरू चिकित्सा विज्ञानको विकासमा संलग्न थिए।’ उनले नेपाल आज चिकित्सा क्षेत्रमा पछाडि परेको भन्दै इतिहासको गर्व बोकेर अबको पिँढीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले नेपालमा अहिले धेरै मानिस बिरामी हुने गरेको भन्दै त्यसलाई रोक्नका लागि स्वास्थ्य चेतना र पहुँच विस्तार गर्न आवश्यक रहेको बताए। उनले विज्ञान, अभ्यास र इतिहासलाई जोडेर चिकित्सा प्रणालीको आधुनिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताए ।

























