
रंगेली । मोरङको रंगेली नगरपालिकामा रहेको रंगेली अस्पताल देशभरकै नमुना र उत्कृष्ट बन्न सफल भएको छ ।
स्थानीय तह मातहतका अस्पतालहरूमध्ये रंगेली उत्कृष्ट बनेको हो । स्वास्थ्य सेवा सुधार र मूल्यांकन प्रणालीअन्तर्गत गरिएको पछिल्लो मूल्यांकनमा रंगेली अस्पतालले ८६ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्वास्थ्य सेवा मापदण्डका ३ प्रमुख सूचकहरू सुशासन र व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र अस्पताल सेवाको आधारमा मूल्यांकन गरिएको थियो । अस्पतालले उच्च अंक प्राप्त गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले रंगेली अस्पतालले पछिल्लो समय उल्लेखनीय सुधार गरेको र त्यो सुधार मूल्यांकनमा स्पष्ट देखिएको बताइन् । उनका अनुसार मूल्यांकन हरेक ६/६ महिनामा हुने गर्छ । यस अवधिमा रंगेली अस्पतालले संरचनागत सुधार, सेवा व्यवस्थापन र सेवा गुणस्तरमा महत्वपूर्ण फड्को मारेको थपलियाको भनाइ छ ।
रंगेली नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मेयर दिलिप बगडीयाले अस्पतालको सफलता सबैको संयुक्त प्रयासबाट सम्भव भएको भन्दै प्रसंसा गरे । उनले भने, ‘हाम्रो व्यवस्थापन टोली, अस्पताल विकास समिति, चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधि सबैको निरन्तर प्रयासकै कारण यो सम्भव भएको हो । अब यो भन्दा अझ अगाडि बढ्ने हाम्रो लक्ष्य छ ।’
उपमेयर भूमा पराजुलीले पनि अस्पताललाई नमुना बनाउने यात्रा सबैको संलग्नताबाट सम्भव भएको बताइन् । उनले मूल्यांकनमा दिइएका सुझावअनुसार आगामी दिनमा अझ सुधारका कार्यक्रमहरू अघि बढाउनुपर्ने जनाइन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वसन्त साहले अस्पतालको समग्र सुधारमा स्थानीय सरकारको साथ, चिकित्सक र स्वास्थ्यकर्मीहरूको समर्पण तथा सेवाग्राहीको विश्वास प्रमुख आधार रहेको बताए । उनले अस्पतालको सेवा, प्रगति र योजना समेटिएको विस्तृत विवरण पनि प्रस्तुत पनि गरेका थिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष देवमणि कटुवालले रंगेली अस्पतालको सुधारको यात्रामा संलग्न सबैलाई धन्यवाद दिँदै अझै पनि गरिनुपर्ने कार्यहरूमा सबैको सहयोग अपेक्षा गरिएको बताए । रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले रंगेली अस्पताल देशकै उत्कृष्ट र सबैभन्दा गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा स्थापित भएको बताए । मूल्यांकनका आधारमा आगामी योजना तय गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय धनकुटाकी नर्सिङ प्रकाशक आस्था थापा, स्रोत व्यक्ति डा. पुजन विश्वकर्मा, डा. वैभव मल्लिक, एमएसएस अफिसर पशुपति खनाल, प्रशासन प्रमुख दीपक तिम्सिना, नगर प्रमुखका सल्लाहकार कृष्ण भट्टराई, सचिवालयका करन ठाकुर, अस्पताल विकास समितिका पदाधिकारी, वडाध्यक्षहरू, अस्पतालका चिकित्सक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
रंगेली अस्पतालको सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउन स्थानीय सरकार एवं प्रदेश सरकारको सहकार्य आवश्यक रहेको सरोकारवालाले बताए । अझै गुणस्तरीय स्वास्थ्य सेवा दिएर मुलुककै नमुना र उत्कृष्ट अस्पतालको यात्रामा अघि बढ्नुपर्ने सुझाव उनीहरुको छ ।

























