लेटाङमा न्यायिक समिति सदस्यमाथि आक्रमण, २ सातापछि बाहिर आयो घटना

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ३२, बुधबार १७:४७

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की ७६ वर्षीया गंगामाया विश्वकर्मालाई फलामको रडले आक्रमण गरिएको घटना सार्वजनिक भएको छ ।

घटना २ सातापछि मात्रै बाहिर आएको छ । लेटाङ नगरपालिकाकी न्यायिक समिति सदस्यसमेत रहेकी उनीमाथि ४६ वर्षीय अग्नि नेपालले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

घटनाप्रति मुक्ति समाज नेपाल कोशी प्रदेश कमिटीले घोर भत्सना गरेको छ । समाजले घटनाको घोर भत्सना गर्दै यसलाई दलित समुदायमाथि हुने विभेद, दमन र अत्याचारपूर्ण हिंसाको पराकाष्ठा भनेको छ ।

संगठनका कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा र सचिव कृष्ण रुचालले जारी गरेको प्रेस विज्ञप्तिमा गंगामायाको उपचारका लागि लाग्ने रकम अस्पताललाई तिर्न पीडक पक्षले आलटाल गरेको उल्लेख छ । उपचारबापतको रकम तिर्न आलटाल गरिएको भन्दै समाजले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उपचारमा ढिलासुस्ती र कानुनी प्रक्रिया अगाडि नबढे मुक्ति समाज नेपाल र सिंगो दलित समुदाय कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । गंगामायालाई आक्रमण गर्नेमाथि कानुन बमोजिम कारबाहीको मागसमेत गरिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योग मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताइन् । ‘इलाका प्रहरी कार्यालयले घटनाको थप अनुसन्धान गरिरहेको छ,’ उनले भनिन्, ‘घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन म्याद थप गरिएको छ ।’

के थियो घटना ?

लेटाङ नगरपालिकाको न्यायिक समिति सदस्य गंगामायामाथि असार १४ गते बिहान करिब १० बजे आक्रमण भएको थियो । ४६ वर्षीय अग्नि नेपालले गंगामायाको घरको आँगनमा आएर नरम स्वरमा भित्र प्रवेशको अनुमति मागेका थिए ।

गंगामायाले उनलाई बस्नका लागि पिरा दिन खोजिन् । तर, त्यही बेला नेपालले प्लाष्टिकको बोरामा लुकाएर ल्याएको फलामको रडले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले गंगामायालाई पटक–पटक टाउको र देब्रे हातमा रडले प्रहार गरेका थिए ।

रडले प्रहार गरेर उनी भाग्न खोजेका थिए । बाटोमा हिँडिरहेका व्यक्तिले होहल्ला गरेपछि स्थानीयहरु भेला भए । स्थानीयहरू भेला हुन थालेपछि आक्रमणकारी नेपाल दौडेर भागेको र भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको जनाइएको छ । गम्भीर घाइते भएकी गंगामायाको विराटनगरस्थित आर्या न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

घटनाअघि असार १० गते नगरसभामा जाने तयारी गरिरहेको अवस्थामा आक्रमणकारी नेपाल ट्याक्टर लिएर गंगामायाको टोलमा पुगेका थिए । त्यस बेला यो टोलका मान्छेहरूले जोतेको पैसा दिँदैनौ रे, बलात्कारको मुद्दा लगाएर जेल पठाउँछन् रे भन्ने रुखो र अप्रासंगिक कुरा गर्दै नेपालले तनाव सिर्जना गरेका थिए ।

त्यो कुरा वडाअध्यक्ष तेजप्रसाद तिम्सिनालाई जनाकारी गराइएको थियो । त्यही विवादका कारण नेपालले वृद्ध अवस्थाकी गंगामायालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.