फाइल तस्बिरविराटनगर । झापामा दुई महिला जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका छन् । ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीले आक्रमण गरेको थियो ।
घाइते भएकाहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो ।
एक वर्षमा ६ जनाको मृत्यु
आर्थिक वर्ष २०८१–८२ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा ६ जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सोही अवधिमा हात्तीको आक्रमणबाट सात जना मानिस घाइते भएका थिए भने चारवटा हात्ती मृत भेटिएका छन् ।

























