कोशी प्रदेशसभा बैठक : सकियो निवृत्तभरण विधेयकमाथिको सैद्धान्तिक छलफल

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १२, सोमबार १७:२२
भाषा सम्बन्धी विधेयक : गैरसरकारी विधेयकको विपक्ष उभिन सत्तापक्षको ह्वीप 

विराटनगर । कोशी प्रदेशसभामा ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

सो विधेयकका सम्बन्धमा बोल्दै सोमबारको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले कर्मचारीहरूको उचित व्यवस्थापन गर्न कोषले मद्दत गर्ने बताए ।

उनले २०७६ साल साउन १ देखि कर्मचारीहरूको हकमा कोष स्थापना गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार विधेयक आएको जानकारी दिँदै कोषको रकम कहाँ जम्मा गर्ने अहिले नै निक्र्यौल नभएको स्पष्ट गरे ।

उनले प्रस्तुत विधेयकका आधारमा स्थानीय तहका कर्मचारीहरूको समेत एकरूपता कायम गरी कोष खडा गर्न सहज हुने बताए । सोमबार भएको छलफलमा कोशी प्रदेशसभाका ४ जना सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।

सभामा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि सदनमा टेबुल भएको छ । सामाजिक विकासमन्त्री पाँच कर्ण राईले पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

यसैबिच शून्य समयमा बोल्दै कोशी प्रदेशसभाका सदस्य रामप्रसाद महतो, रामदेव यादव र राजन किराँतीले खडेरीका कारण किसानले समयमै धान रोप्न नपाएको अवस्थामा सिँचाइका लागि कृषि मिटरको व्यवस्थासहित सहुलियत दिन सरकारसँग माग गरेका छन् ।

प्रदेशसभा सदस्य गोम्बु शेर्पाले विश्वको सर्वोच्च शिखर ‘सगरमाथा’ कोशी प्रदेशमा पर्ने भए पनि यसबाट संकलन हुने राजस्व संघको हुने र त्यस क्षेत्रको फोहोर र शव व्यवस्थापनमा संघीय सरकारको ध्यान नगएकोमा दुःख व्यक्त गरे ।

सदस्य गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलका नाममा उठेको घूस प्रकरणका विषयमा छानबिनको माग गरे ।

सदस्य भक्तिप्रसाद सिटौलाले झापाको बिर्तामोडस्थित यातायात कार्यालयमा स्वास्थ्य परीक्षणमा खटिएका कर्मचारीको योग्यता नपुगेको जानकारी दिँदै स्वास्थ्य परीक्षणको प्रमाणपत्र दिने चिकित्सकले सेवाग्राहीबाट तोकिएको रकमभन्दा बढी रकम असुल्ने गरेकामा सरकारको ध्यानाकर्षण गराए । अर्को बैठक भोलि मंगलबार दिउँसो १ बस्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.