
रियाद । वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका र त्यहाँको कानुनविपरीत काम गरेर जेल सजाय भोगिरहेका ६५ जना नेपालीले आममाफी पाएका छन् । साउदी सरकारले उनीहरुलाई आममाफी दिएको हो ।
रमजान १४४६ को अवसरमा साउदी सरकारले विभिन्न अपराधमा जेलमा रहेका ती नेपालीलाई बाँकी कैद मिनाहा गर्दै आममाफी दिएको नेपाली दूतावास रियादले जानकारी दिएको छ । दूतावासका अनुसार साउदीका विभिन्न सहरका जेलहरूमा थुनामा रहेका नेपाली कामदारहरूलाई आममाफी दिइएको हो ।
आममाफीबारे साउदी सरकारबाट लिखित सूचना प्राप्त भइसकेको र अब ती नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ। आममाफी पाउनेमा कम्पनीबाट भागेर अवैधानिक रूपमा काम गर्ने, भिसा अवधि सकिएपछि साउदीमा लुकेर बस्ने, यातायात वा अन्य सानातिना कानुनी मुद्दामा संलग्न रहेका नेपालीहरू छन् ।
साउदीमा हरेक वर्ष रमजान लगायत विशेष धार्मिक अवसरमा विदेशी नागरिकलाई लक्षित गर्दै आममाफी दिने गरिन्छ । साउदी सरकारले आममाफीको लागि सामान्यतः ९० दिनको अवधि तोक्ने गरेको छ । जसमा आप्रवासीहरूले प्रक्रिया पूरा गरी देश छोड्न पाउँछन् ।
साउदी अरेबियाको झन्डै ३ करोड ८४ लाख जनसंख्यामध्ये १ करोड २० लाख आप्रवासी छन् । तीमध्ये ठूलो संख्यामा दक्षिण एसियाली मुलुकका नागरिक छन् ।
नेपाली दूतावासको तथ्यांकअनुसार साउदीका विभिन्न जेलमा हाल पनि ५ सय ४४ जना नेपाली छन् । अधिकांश श्रमिक कानुन उल्लंघन, कामदार अधिकारसम्बन्धी विवाद र अवैधानिक बसाइका कारण थुनामा परेका हुन् ।
साउदीबाट आममाफी पाएका ६५ जनामध्ये केहीलाई तत्कालै टिकट उपलब्ध गराई नेपाल फर्काउने तयारी दूतावासले थालेको छ । बाँकीको हकमा आवश्यक कागजात तयार पारेर स्वदेश फिर्ती प्रक्रिया अघि बढाइने बताइएको छ ।
साउदीमा जेल परेका नेपालीलाई छुटाउन दूतावासले कानुनी सहायता, कूटनीतिक पहल र आवश्यक आर्थिक सहयोगसमेत गर्दै आएको छ । दूतावासले यसअघि पनि अवैधानिक रूपमा साउदीमा बस्दै आएका नेपालीलाई स्वदेश फर्किन अनुरोध गर्दै आएको थियो ।
विदेशमा गैरकानुनी रूपमा काम गर्दा जेल पर्ने जोखिम उच्च हुने भएकाले सरकारले वैदेशिक रोजगारीमा जानेहरूलाई प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गर्दै आएको छ। हाल साउदी जेलमा रहेका अन्य नेपालीका लागि पनि सम्भावित आममाफीका अवसर खोज्ने काममा दूतावास सक्रिय रहेको जनाइएको छ ।

























