
विराटनगर । पानी परेको समयमा ओत लागेका बेला ढलेको रुखले किचेर २ जना बालबालिकाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा शुक्रबार दिउँसो घटना भएको हो । प्रहरीका अनुसार पानी परेका बेला ओत लाग्न बसेको टहरोमाथि रुख ढलेर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
टहरोमा रुख बज्रिदा ९ वर्षीय सार्की थिङ र १६ वर्षीयाका सन्ता गोलेको मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । उनका अनुसार रुखले किच्दा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सुशीला थिङ घाइते भएका छन् ।
घाइतेमध्ये सिर्जना र सन्ध्याको अवस्था गम्भीर छ । उनीहरूलाई दुवै जनालाई उपचारका लागि मकवानपुरको हेटौंडातर्फ पठाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ ।

























