
विराटनगर । शान्ति सुरक्षा सुदृढ गर्दै लागूऔषधको कारोबार र सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्न कोशी प्रदेश सरकारले कार्ययोजना बनाउने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, सीमा सुरक्षा र वर्तमान सुरक्षा चुनौतीहरूका विषयमा छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले बताए ।
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका थिए । चाडपर्वलाई लक्षित गरी कालोबजारी रोकथाम गर्न पनि उनले निर्देशन दिए ।
बैठकमा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूका साथै मोरङ, सुनसरी र झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो । बैठकले प्रदेशको शान्ति, सुरक्षा र सुशासनलाई थप बलियो बनाउन समन्वयात्मक रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
जेठ २७ र २८, २०८१ मा पनि नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको थियो, जसमा विद्यमान सुरक्षा अवस्था, चुनौती र आगामी कार्यभारबारे छलफल भएको थियो ।

























