
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय ‘भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी)मा सहभागिताका लागि तुर्कमेनिस्तानको आवाजा सहर पुगेका प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै सो निमन्त्रणा दिएका हुन् । उक्त भेटवार्तामा २ देशबीचको परम्परागत मित्रता, आपसी चासो, आर्थिक सहयोग तथा क्षेत्रीय सहकार्यलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
भेटपछिको संक्षिप्त अभिव्यक्तिमा प्रधानमन्त्रीले छोटो अवधिमा तुर्कमेनिस्तानले हासिल गरेको पूर्वाधार र आर्थिक विकासप्रति प्रशंसा व्यक्त गर्दै नेपाल सन् २०२६ मा विकासशील राष्ट्रमा पुग्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराए । उनले सम्मेलन आयोजना गरेकोमा राष्ट्रपति बेरदिमुहामेदोभलाई धन्यवाद दिँदै नेपालले भूपरिवेष्टित राष्ट्रहरूको हितमा उठाउने मुद्दाहरूमा तुर्कमेनिस्तानसँग सहकार्य गर्न इच्छुक रहेको संकेत गरेका छन् ।
हरेक १० वर्षमा एकपटक आयोजना हुने उक्त उच्चस्तरीय सम्मेलनमा प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्। सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीको निमन्त्रणाले नेपाल–तुर्कमेनिस्तान सम्बन्धमा नयाँ कूटनीतिक गतिशीलता थप्ने अपेक्षा गरिएको छ । राष्ट्रपति बेरदिमुहामेदोभको सम्भावित नेपाल भ्रमणले २ देशबीच आर्थिक, उर्जा, यातायात तथा पूर्वाधार क्षेत्रमा साझेदारीका नयाँ अवसरहरू खोल्न सक्ने विज्ञहरूको भनाइ छ ।

























