कैदीबन्दीबीच झडप : १ जनाको मृत्यु, ४७ जना घाइते

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २४, शनिबार १४:०१

धनगढी । कैदीबन्दीबीच दोहोरो झडप हुँदा १ जनाको मृत्यु भएको छ । कारागारमा कैद सजाय भुक्तान गरिरहेकाको झडपमा मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् ।

कैलाली जिल्ला कारागारभित्र शुक्रबार राति करिब ११ बजेदेखि झडप सुरु भएको बताइएको छ । घटनाले कारागारभित्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । दोहोरो झडपका कारण लामो समयसम्म कारागार तनावग्रस्त बन्यो ।

झडपमा परेर धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । झडपमा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । प्रशासनका अनुसार कैदीबन्दीहरू २ समूहमा बाँडिएर आपसमा भिडेका थिए ।

२ पक्षबीचको विवाद उग्र हुँदै गएर झडपमा परिणत हुँदा मानवीय क्षति हुन पुगेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । ‘मनमुटाव बढेर झडपको अवस्था सिर्जना हुँदा मानवीय क्षति भयो,’ उनले भने ।

झडपमा घाइते भएका ४७ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

प्रहरीका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी रहेको कैलाली कारागारमा सुरक्षा चुनौती पहिलेदेखि नै थियो । करिब साढे ६ सयभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा यति ठूलो घटना हुनुले सुरक्षा व्यवस्थाको कमजोरीलाई प्रष्ट पारेको छ ।

स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरेको छ । जोशीले छानबिनबाट दोषी देखिएकालाई कारबाही हुने र आगामी दिनमा घटना दोहोरिन नदिन विशेष सुरक्षा योजना बनाइने बताए । यो घटनाले कारागारभित्र लागुऔषधको कारोबार र समूहगत गुन्डागर्दीजस्ता विकृति मौलाएको हुनसक्ने आशंकालाई थप बल पुर्याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.