
विराटनगर । धनकुटामा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनालाई उपचारका लागि अन्यत्र रेफर गरिएको छ ।
टेकुनालाबाट धनकुटातर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको बोलेरो आफैं अनियन्त्रित भएर आइतबार बिहान करिब १०ः३५ बजेतिर धनकुटा नगरपालिका–८ टेकुनालामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिब ५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर घाइते भएकामध्ये धनकुटा–८ की ४५ वर्षीया रेनुका राई, ९० वर्षीय हर्कलाल राई, धनकुटा–७ का ३८ वर्षीय जितबहादुर राई र ६२ वर्षीय गुणराज श्रेष्ठलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार धनकुटा बजारमा गाईजात्रा हेर्नका लागि गएकाहरु चढेको गाडी दुर्घटनामा परेको हो । गाडीमा चालकसहित २५ जना सवार थिए । दुर्घटनामा परेर सबै जना घाइते भएको जानकारी प्रहरीले दिएको छ ।

























