
विराटनगर । मोरङको केराबारी गाउँपालिका– ९ मा रहेको देवीझोडा सामुदायिक वन उपभोक्ता समूहले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ ।
वन तथा भूसंरक्षण विभागले सोमबार १ समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरेको छ । वनको संरक्षण, सम्बर्द्धन, दिगो विकास, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण र गरिबी न्यूनीकरणमा योगदान पुर्याएको भन्दै देवीझोडालाई पुरस्कार प्रदान गरिएको हो ।
समूहलाई नगद १ लाख र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वन तथा भूसंरक्षण मन्त्री ऎनबहादुर शाहीले उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
समूहका तर्फबाट अध्यक्ष गोविन्द बस्नेत, उपाध्यक्ष रत्ना राई, सचिव समीर सोदेम्बा र कोषाध्यक्ष आशा लिम्बू कार्यक्रममा उपस्थित रहेका थिए । यसअघि मोरङ जिल्लाको उत्कृष्ट सामुदायिक वनको पुरस्कारबाट समेत देवीझोडा पुरस्कृत भइसकेको छ ।
त्यस्तै, साझेदारी वनतर्फ बेलबारी–चिसाङ साझेदारी वन उपभोक्ता समूह मोरङ द्वितीय, कवुलियती वनतर्फ परमाने–पखेरो कवुलियती वन समूह तेह्रथुम प्रथम, नीजि वनतर्फ भरतकुमार बस्नेत (झापा)प्रथम र पुनम कुमारी (मोरङ) द्वितीय भएका थिए । कर्मचारीतर्फ गणेशबहादुर कार्की (सवरबाट मोरङ) प्रथम र मनिषा कार्की (सहायक कर्मचारीतर्फ इलाम) तृतीय भएका छन् ।

























