
विराटनगर । हुलाकी राजमार्गको मोरङस्थित कटहरी खण्डको ६ किलोमिटर सडक निर्माण कार्य ४ दिनभित्र सुचारु गर्ने सहमति भएको छ । प्रदेश र संघीय सांसदहरूले सडक निर्माणमा ढिलाइ भएको भन्दै अनशन बस्ने चेतावनी दिएपछि ठेकेदार कम्पनी, सांसद र सडक विभागबीच यस्तो सहमति जुटेको हो ।
कटहरी रामचोकदेखि– हाटखोलासम्मको ६ किलोमिटरको काम ६ वर्षदेखि सुस्त गतिमा छ । निर्माणको जिम्मा लिएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीले हालसम्म २३ प्रतिशत मात्र भौतिक तथा आर्थिक प्रगति गरेको छ ।
२०७६ सालमा ७७ करोडमा ठेक्का लिएको कम्पनीको म्याद गत जेठ ३० गते सकिए पनि काम सम्पन्न भएको छैन ।
आइतबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सांसद भीम पराजुलीले तत्काल काम सुरु नगरे प्रदेशसभा परिसरमा आमरण अनशन बस्ने घोषणा गरेका थिए ।
मंगलबार प्रतिनिधिसभा बैठकमा मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदीले सभामुखबाट रुलिङ नभए अनशन बस्ने घोषणा गरेका थिए । ‘हुलाकी सडक अन्तर्गतको कटहरी खण्ड १० वर्ष हुन लागिसक्यो अझै बन्न सकेको छैन । त्यहाँको जनताहरूको अहिले सडकमा धान रोपाइ चलिरहेको छ । यस्तो परिस्थितिमा सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्यो’ शून्य समयमा सांसद मोदीले भने,‘होइन भने सभामुख महोदय, म तपाईंको अगाडि अनशन बस्छु । जबसम्म मेरो कुराको सुनुवाई हुँदैन तबसम्म अनशन बस्छु ।’
यसअघि मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले पनि सडक निर्माणको माग उठाएका थिए ।
सांसदहरूको दबाबपछि मंगलबार सडक विभागमा भएको छलफलमा चारबुँदे सहमति भएको हो ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार निर्माण व्यवसायीले आजको मितिले ४ दिन भित्र जनशक्ती परिचालन गर्ने सहमति छ । सहमति अनुसार तत्काल २ वटा रोलर, २ वटा ग्रेडर, ७ देखी १० वटा टिपरसहित कामदार खटाउनेछन् । यदि सहमतिअनुसार काम नभएमा १५ दिनभित्र ठेक्का सम्झौता रद्द गरिने उनले बताए ।
निर्माणमा ढिलासुस्ती
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने हुलाकी राजमार्गको मोरङ खण्ड ४४ किलोमिटर लामो छ । जसमध्ये कटहरीको उक्त ६ किलोमिटर खण्डको काम ६ वर्षदेखि अत्यन्त सुस्त गतिमा छ । २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, हेटौंडाले ७७ करोड रुपैयाँमा ठेक्का लिएको यो आयोजनाको आर्थिक र भौतिक प्रगति हालसम्म २३ प्रतिशत मात्रै छ ।
आयोजनाको थपिएको म्याद गत जेठ ३० गते नै सकिएको छ । निर्माण कम्पनीले थप २ वर्षको समय माग गरे पनि आयोजना कार्यालयले १ वर्ष थप गर्न सिफारिस गरेको थियो। तर, सम्झौता नवीकरण भइसकेको छैन ।
यस खण्डमा मुख्य ठेकेदार श्रेष्ठ कन्स्ट्रक्सन भए पनि काममा अर्कै समूह देखिएको छ। सुरुमा भूपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए भने पछिल्लो ६ महिनादेखि अभिषेक गिरीले यो जिम्मेवारी सम्हालेका छन् ।
गिरीका अनुसार, बिजुलीको पोल र खानेपानीको पाइप व्यवस्थापनका लागि बजेट अभाव हुँदा काम अघि बढाउन कठिनाइ भएको छ।
आयोजना कार्यालयका अनुसार, पोल र खानेपानी पाइप व्यवस्थापनका लागि ६ करोड लागत अनुमान गरिए पनि आयोजनाले २ करोड मात्रै छुट्याएको छ, जसले गर्दा काममा थप ढिलाइ हुने निश्चित छ । ‘विद्युत प्राधिकरणकै बजेटमा सार्ने कुरा पनि भइरहेको छ, तर यसका लागि टेन्डर प्रक्रियामा जाँदा समय लाग्छ,’ योजना प्रमुख पोखरेलले भने,‘ अरु विकल्पमा पनि छलफल भइरहेको छ ।’

























