झापाको ‘बालुवाटार’ जग्गा प्रकरण : माओवादी नेता गगन पुरीसहित ९ जना भ्रष्टाचारी ठहर, ८ सय रोपनी सरकारीकरण हुने

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २८, बुधबार १९:२९

काठमाडौं । झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनारको करिब ८ सय रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा नेकपा (माओवादी केन्द्र)का स्थानीय नेता रेवतराज पुरी (गगन पुरी)सहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले बुधबार मुद्दाको फैसला सुनाएको हो । अदालतले पुरीलाई १ वर्ष कैद र २० लाख रुपैयाँ जरिबाना हुने फैसला गरेको छ ।

साथै तत्कालीन नापी अधिकृत शशिकान्त झा, नापी अधिकृत रामदेव मण्डल, सर्वेक्षकहरू सीताराम यादव, विन्देश्वर पञ्जियार, विष्णुदेव यादव, रामकुमार दास, गणेशकुमार धिमाल, अमिन ललितकुमार मण्डल र नायव सुब्बा रुद्रप्रसाद श्रेष्ठलाई ३ महिनादेखि १ वर्षसम्म कैद सजाय र १८ लाखदेखि १८ हजारसम्म जरिबानाको फैसला विशेषबाट भएको छ ।

व्यक्तिको नाममा दर्ता भएको सम्पूर्ण ८ सय रोपनी जग्गा जफत (सरकारीकरण) गर्ने आदेशसमेत विशेषले दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन १३ गते दायर गरेको मुद्दामा पुरीमाथि करिब ६ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो । उनकी पत्नीमाथि पनि करिब ५ करोड ७० लाख रुपैयाँ भ्रष्टाचारको आरोप थियो ।

यो मामिला २०३८ सालको बाढीपछि विस्थापित सुकुम्बासी बस्ती रहेको ‘बालुवाटार’सँग सम्बन्धित हो । बस्ती विस्थापित भएपछि रतुवा खोलामा तटबन्ध गरेर फिर्ता पारिएको जग्गा पुरीको नेतृत्वमा अतिक्रमण गरी विभिन्न व्यक्तिको नाममा दर्ता भएको अख्तियारको दाबी छ । त्यसपछि पुरी र परिवारले जग्गा सुरुवातदेखि बेच्न थालेका थिए । अभिलेख अनुसार उनीहरूको नामबाट मात्रै सय रोपनीभन्दा बढी जग्गा पास भएका छन् ।

यो जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । त्यसकै आधारमा झापामा किर्ते मुद्दा दर्ता भएको छ । जुन हाल पनि जिल्ला अदालतमा विचाराधीन छ ।

यसअघि २०८० फागुन ६ मा विशेष अदालतले पुरीलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै ४ करोड ३ लाख रुपैयाँ असुल गर्ने फैसला सुनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.