
विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई धार्मिक र सांस्कृतिक परम्पराको महत्वपूर्ण हिस्सा मानिन्छ ।
रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । रथले नगरको ९ किलोमिटर यात्रा तय गर्दा राति करिब ९ बज्ने छ । वर्षौं पुरानो यो परम्पराले विराटनगरको सांस्कृतिक पहिचानलाई झल्काउँछ । यस यात्रामा हजारौं भक्तजनहरू सहभागी हुन्छन् । रथयात्राका लागि काेशी प्रदेश सरकारले झापा माेरङ र सुनसरी जिल्लामा विदा दिएकाे छ ।
रथयात्राले धार्मिक आस्था मात्र नभइ धार्मिक विश्वास, एकता र सामुदायिक भावनालाई बढावा दिँदै सामाजिक एकता र सद्भाव पनि बढाउँछ ।
विक्रम संवत १९८८ मा विराटनगर महानगरपालिका–१ मा राधाकृष्ण मन्दिरको स्थापना भयो । मन्दिर स्थापना भएपछि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालिएको इतिहास छ ।
आज ५८ औं संस्करणको रथयात्रा विराटनगर–१ को राधाकृष्ण मन्दिरबाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ ।
नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ ।
विगतको रथलाई केही परिमार्जन गरेर यसपटक फरक शैलीमा निर्माण गरिएको छ । रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यसपटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । विराटनगरका केही व्यक्तिहरूले विक्रम संवत १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास रहेको रेग्मीले बताए ।
२०२२ सालदेखि बायलगाडामा निकालिन थालियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ ।
रथयात्रा सुरु हुनुअघि करिब १ किलोमिटरसम्म विभिन्न किसिमका झाँकी, जातजातिका नृत्य, भजन मण्डलीलगायत रहने छन् । रथयात्राका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिने छ ।
रथयात्रामा स्वदेश तथा विदेश अर्थात् छिमेकी मुलुक भारतबाट लाखौं भक्तजनहरु आउने हुँदा सुरक्षा संयन्त्रलाई चुस्तदुरुस्त बनाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले भने,‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सबै सुरक्षा निकायले सक्रियताका साथ आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका साथै नेपाली सेनाबाट रथयात्रा र भक्तजनहरुको सुरक्षाको प्रबन्ध मिलाइएको छ । सुरक्षामा कुनै किसिमको कमीकमजोरी हुने छैन ।’
सुरक्षा व्यवस्था कडा पारिएको यादवले बताए । ‘रथयात्राका क्रममा चोरी, हुलहुज्जत तथा उच्छृङ्खल गतिविधि गर्नेहरु पनि आउँछन्,’ उनले भने, ‘त्यस्ता गलत कार्यमा संलग्नलाई पक्राउ गर्न ठूलो संख्यामा हतियारसहितका र सादा पोसाकका प्रहरी परिचालन गरिने छ ।’ अवाञ्छित गतिविधिमा संलग्ललाई तत्कालै पक्राउ गर्ने तयारी रहेको उनले बताए ।
नेपाल प्रहरीले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसमेतका सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्था मजबुत बनाइने मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनुवारले जानकारी दिए ।

























