
काठमाडौं । विदेश जाने यात्रुले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन जाँचका लागि कम्तीमा १ घण्टा अगावै पुग्नुपर्ने भएको छ ।
अन्तिम समयमा यात्रुको भिड बढ्दा आवश्यक कागजात परीक्षणमा कठिनाइ हुने भएकाले नयाँ व्यवस्था लागू गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनका अनुसार विशेष गरी रातिको समयमा खाडी मुलुकतर्फ उडान भर्ने यात्रुको चाप बढ्दा अध्यागमन डेस्कमा समस्या हुने गरेको छ ।
‘अन्तिम समयमा यात्रु पुगेपछि कर्मचारीले समेत चेकजाँच गर्न कठिन हुने भएकाले यसमा कडाइ गरिएको हो,’ उनले भने । अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने एयरलाइन्स कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायबीच छलफल गरेर यो निर्णय लिएको हो ।
विभागले यात्रुहरूको चापलाई व्यवस्थापन गर्न नागरिक उड्डयन प्राधिकरणलाई उडान तालिका लचिलो बनाउन आग्रह समेत गरेको छ । यता, विमानस्थल अध्यागमनको नाममा भइरहेको अवैध असुलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन जारी राखेको छ ।
यसअघि संगठित गिरोहको मिलेमतोमा नेपाली युवालाई भिजिट भिसामा असुली गरेर पठाउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन विमानस्थल प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका थिए । त्यसपछि गृह मन्त्रालयले अध्यागमन महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल प्रमुखमा नरहरि घिमिरेलाई जिम्मेवारी दिएको हो ।
भिजिट भिसामा पैसा असुली गर्ने प्रवृत्ति अझै कायम रहेकाले अध्यागमनमा कडाइ आवश्यक रहेको बताइएको छ । यात्रुले समयमै अध्यागमन प्रक्रिया पूरा गरेर मात्र उडान लिनुपर्ने विभागले स्पष्ट पारेको छ ।

























