
विराटनगर । प्रतिनिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी भएको छ ।
पद अनुकूलको आचरण नगरेको भन्दै कांग्रेस र नेकपा एमालेले उनीविरुद्ध आज महाभियोग दर्ता गर्न लागेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् ।
सिंहदरबाटस्थित संसदीय दलको कार्यालयमा बोलाएर एमाले–कांग्रेसका सांसदहरूलाई हस्ताक्षर गराएका हुन् ।
सांसदहरुले यस अगाडि नै उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएकोसंसद बैठकमै उठाएका प्रश्न थिए ।
भिजिट भिसा प्रकरणमा राना मुछिएकी रानालाई राजीनामा दिन आग्रह गर्दासमेत नदिएकाले संसद्बाट पारित गरेर बर्खास्त गर्ने सत्तापक्षको तयारी रहेको नेताहरू बताउँछन् ।
यस अगाडि नै कांग्रेसले उपसभामुखविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न चाहे पनि एमालेले मानेको थिएन ।
प्रतिनिधिसभा नियमावलीअनुसार संसद्का एक चौथाइ सदस्यले सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ ।
नियमावलीको नियम २१० अनुसार त्यस्तो प्रस्ताव दर्ता भएको ७ दिनभित्र संसद्मा छलफल गरी निर्णय लिनुपर्ने छ ।
यस्तै नियमावलीको नियम २१२ मा दुईतिहाइबाट उक्त प्रस्ताव पारित भए सभामुख÷उपसभामुख पदबाट स्वतः निलम्बन हुने व्यवस्था छ । उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद हुन् ।
उपसभामुख पदबाट हटाउनका लागि भने सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७४ सांसद छन् ।
दुईतिहाइ पुग्न १८३ सांसद आवश्यक पर्छ तर मतदानका लागि कांग्रेसका ८७ र ७८ सांसद छन् । जसले गर्दा प्रस्ताव पारित गर्न साना दललाई साथमा लिनुपर्ने छ । उपसभामुख राना अहिले अमेरिका भ्रमणमा रहेकी छन् ।

























