उपसभामुख हटाउने प्रस्ताव नेपाल नफर्किएसम्म अगाडि नबढ्ने

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ४, बुधबार १७:०१

विराटनगर । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रस्ताव चाँडै अगाडि नबढ्ने भएको छ ।

उनी नेपाल नफर्किएसम्म पदबाट हटाउने प्रस्ताव अगाडि नबढाउने सहमति नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको नेताहरू बताउँछन् ।

यो विषयमा कांग्रेसले आन्तरिक छलफल समेत गरेको छ । बुधबार बिहान कांग्रेसको कार्यसमिति बैठक बसेको थियो । जहाँ उपसभामुख हटाउने प्रयास तत्कालका लागि केही पर सरेको विषयमा छलफल भएको थियो ।

उपसभामुख राना अमेरिका भ्रमणमा छिन् । उनी यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संकलित हस्ताक्षरको प्रयोग तत्काल नहुने बताए ।

मंगलबार कति सांसदको हस्ताक्षर संकलन भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।

उपसभामुखाई हटाउन प्रस्ताव दर्ता गर्नका लागि ६९ जना सांसद भए पुग्छ । हटाउने निर्णयका लागि लागि भने दुई तिहाइ मत आवश्यक पर्छ ।

प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी व्यवस्था छ ।

हाल प्रतिनिधि सभामा २७४ जना बहाल रहेका छन् । नेपाली कांग्रेसको ८८ र नेकपा एमालेको ७९ जोड्दा १६७ पुग्छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टीका ७ जना सांसद रहेका छन् । जनमत पार्टीका ६, लोकतान्त्रिक समावादी पार्टीका ४ जना सांसद छन । नागरिक उन्मुक्ति पार्टीका ४ जना रहेका छन् ।

प्रतिनिधि सभामा नेकपा माओवाद केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३, नेकपा एकीकृत समाजवादीका १० जना सांसद रहेका छन् ।

जनता समाजवादी पार्टी नेपालका ५, नेमकिपाको १, जनमोर्चाको एक, आजपाको १ र स्वतन्त्र २ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.