उमागौरी सहकारी प्रकरण : अञ्जला कोइरालासहित ४ जनासँग उच्चले माग्याे १ कराेड धराैटी

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ५, बिहीबार २०:४७

विराटनगर । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा उच्च अदालत विराटनगरले ४ जना प्रतिवादीसँग जनही १ करोड धरौटी माग गर्ने आदेश दिएको छ ।

उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी तथा तत्कालिन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, पूर्वउपाध्यक्ष सन्तलाल खवास र ज्योति बास्कोटासँग मुद्दाको पूर्पक्षका लागि जनही १ करोड धरौटी माग गर्ने आदेश गरेको हो ।

शिक्षक समेत रहेकी कोइरालालाई मोरङ अदालतले पुस २४ गते १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । बास्कोटा र रंगेली नगरपालिका–२ का वर्तमान वडाध्यक्ष खवासलाई जनही ५ लाख धरौटीमा छाडेको थियो ।

धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष राजवंशीलाई मंसिर २८ गते जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो । माघ २१ गते अध्यक्ष सम्भुप्रसाद रौनियारलाई थुनामा पठाउने आदेश दिएको थियो ।

अध्यक्ष रौनियारको हकमा भने थुनामा पठाउने जिल्ला कै आदेश सदर भएको छ ।

जिल्लाको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालतको बेञ्चमा न्यायाधीशबीच राय बाझिएको थियो । गत वैशाख ११ गते न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाबीच राय बाझिएपछि बिहीबार तेस्रो बेञ्चबाट आदेश भएको हो ।
पुडासैनीले जिल्ला कै आदेश सदर गर्ने राय दिएकी थिइन् । बास्तोलाले जनही १ करोड धरौटीमा छाड्ने राय दिएका थिए ।

राय बाझिएपछि बिहीबार न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले अञ्जलासहित ४ जना प्रतिवादीलाई १ करोड धरौटी माग गर्ने आदेश उच्च अदालत विराटनगरले दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

२०८१ मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ अपचलन आरोपमा २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.