
विराटनगर । ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी बोकेको ईभी भ्यान शुक्रबार बिहानका राति झापामा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका–३ धर्मकाँटामा प्रदेश १–०१–००१ ज ४०८८ नम्बरको ईभी आफैं अनियन्त्रित भइ दुर्घटनामा परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पथीभरा दर्शन गरेर फर्किएका तीर्थयात्री सवार भ्यान बिर्तामोडतर्फ आउँदै गरेका बेला दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका हुन् ।
दुर्घटनामा भ्यानका धनीसहित रहेका चालक ताप्लेजुङको फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा, भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू, ३४ वर्षीय प्रेम यौङहाङ, ३२ वर्षीय टीका लिम्बू, झापाको अर्जुनधारा नगरपालिका–१० का ४४ वर्षीय विजय लिम्बू, ४२ वर्षीया मनकुमारी लिम्बू, दमक नगरपालिका–३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीय रीता धिमाल घाइते भएका छन् ।
घाइतेहरुको अवस्थामा सामान्य रहेको र बी एन्ड सी अस्पतालमा उपचार भइरहेको डीएसपी खड्काले बताए । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

























