
काठमाडौं । देशका थोरै स्थानमा आज (भदौ ८) ‘भारी’ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका कतिपय स्थानमा हावाहुरीको सम्भावना छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको पनि देशमा प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा ‘मध्यम’ वर्षाको सम्भावना छ । बाँकी तराईका भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेस प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकीसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षाको पूर्वानुमान छ ।

























