
काठमाडौं । नेपाल र भियतनामबीचको सम्बन्धलाई नयाँ गतिमा अघि बढाउने सहमति बनेको छ ।
काठमाडौंमा आइतबार उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुवै देशले पर्यटन, व्यापार, लगानी र सांस्कृतिक सहकार्यलाई प्राथमिकताका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । वार्तापछि परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले दुवै पक्षबीच मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई मजबुत बनाउँदै प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको बताए ।
उनले धार्मिक र सांस्कृतिक समानता, विशेषगरी बुद्ध धर्म, दुवै देशबीचको सम्बन्धलाई बलियो बनाउने मुख्य आधार भएको र त्यसलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने समझदारी भएको उल्लेख गरे । नेपाल भ्रमणमा रहेकी उपराष्ट्रपति सुआन नेपालको पहिलो उच्चस्तरीय भियतनामी पाहुना हुन् ।
काठमाडौं आइपुग्नेबित्तिकै उनले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्यक्ष उडान सुरु गर्ने प्रस्ताव पाएकी थिइन् । सुआनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग र सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ३ दिने नेपाल यात्रा सकेर उनी सोमबार स्वदेश फर्किने छिन् ।

























