
काठमाडौं । सरकारले सबै प्रदेशमा सञ्चालन गर्ने उद्देश्यसहित ७ वटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेका अनुसार हिमाली र पहाडी जिल्लामा ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवा अवरुद्ध भइरहेकाले नयाँ जहाज ल्याउने प्रक्रिया अघि बढाइएको हो । मन्त्री पाण्डेले विषयगत समितिमा प्रस्ताव दर्ता भइसकेको जानकारी दिँदै पारदर्शी मोडेलमार्फत खरिद हुने बताए ।
निजी क्षेत्रसँग सहकार्य गरेर सेवा विस्तार गर्ने तयारी रहेको उनले स्पष्ट पारे । उनका अनुसार नेपाल एयरलाइन्सका २ ट्विनअटर मात्रले माग धान्न सक्ने अवस्था नरहेकाले दीर्घकालीन दृष्टिकोणसहित जहाज थप्नैपर्ने आवश्यकता छ ।
हाल मुलुकभर ५३ विमानस्थल भए पनि जहाजको संख्यामा आएको कमीका कारण धेरैजसो निष्क्रिय भएको मन्त्री पाण्डेले बताए । उनका अनुसार हुम्ला र लुक्लाजस्ता केही स्थानबाहेक दुर्गम क्षेत्रमा उडान नहुँदा स्थानीय नागरिक झनै संकटमा परिरहेका छन् ।
यही सन्दर्भमा कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले काठमाडौं आएर संघीय मन्त्री र विमान कम्पनी सञ्चालकसँग छलफल गरेको थियो । सुर्खेत विमानस्थललाई आधार मानेर कर्णालीका जिल्लामा नियमित उडान सुरु गर्न माग गर्दै उनले स्पष्ट कार्ययोजना बनाउन आग्रह गरेका थिए ।
मुख्यमन्त्री कँडेलले अनुमति दिँदाको प्रतिवद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै सुर्खेतलाई ‘ट्विनअटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारे । तर, निजी एयरलाइन्सका प्रतिनिधिहरूले भने यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ रहेको बताए ।
सीता एयरलाइन्सका प्रतिनिधिले सुर्खेतबाट केही उडान भइरहे पनि जुम्ला, सिमिकोट जस्ता स्थानमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै राज्यले विशेष सहुलियत दिनुपर्ने माग गरे । नागरिक उड्डयन प्राधिकरणले भने विकल्प देखाएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई सामेल गरेर सुर्खेतलाई प्रादेशिक हबको रूपमा विकास गर्न सकिने सम्भावना छ । तर, मन्त्री पाण्डेले जहाजको अभावकै कारण सेवा विस्तार गर्न कठिन भएको भन्दै प्राधिकरणको विकल्प तत्काल सम्भव नभएको संकेत गरे ।

























