
काठमाडौं । विशेष अदालतले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिएपछि उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले आइतबार पुनरावेदन निवेदन दर्ता भएको जनाए ।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले अर्यालसहितलाई सफाइ दिने फैसला गरेको थियो ।
मुद्दा दायर गर्दा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरिएको थियो । विशेषको फैसला चित्त नबुझेको भन्दै अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

























