
काठमाडौं । जिल्ला अदालत कास्कीले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजनलाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राइको इजलासले १० लाख रुपैया धरौटीमा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
यो सहकारी ठगी प्रकरणमा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रतिवादी छन् । उनी पनि ६५ लाख धरौटीमा छुटेका थिए ।
बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् ।
बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए ।
अदातलमा उपस्थित भएका बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट जम्मा १ अर्ब ५१ करोड रुपैयाको अपचलन भएको थियो ।

























