
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे पनि अहिले कुनै कारबाही नहुने स्पष्ट पारेको छ ।
पछिल्ला दिनमा असोज १ गतेदेखि जडान नगरे जरिबाना लाग्ने भन्ने हल्ला चलेपछि विभागले मंगलबार एक सूचना जारी गर्दै त्यसबारे प्रस्ट पार्दै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको हो । विभागले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भने यथावत् रहने जनाउँदै आफ्नै अनुकूल समयमा सवारी दर्ता भएको कार्यालयमा पुगेर स्वतःस्फूर्त ढंगले जडान गर्न सकिने जनाएको छ ।
विभागका अनुसार हालसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगरेको भन्दै कुनै सवारी साधनलाई जरिबाना वा अन्य कानुनी कारबाही गर्ने नीति छैन । विभागले भनेको छ, ‘इम्बोस्ड नम्बर प्लेट आगामी असोज १ गतेसम्म अनिवार्य जडान गर्नुपर्ने र नगरे जरिबाना लाग्ने भन्ने हल्ला निराधार छ । कृपया यसबारेमा भ्रममा नपर्नुहुन अनुरोध छ ।’
सरकारले केही वर्षअघि सबै सवारी साधनलाई क्रमशः इम्बोस्ड नम्बर प्लेटमा रुपान्तरण गर्ने निर्णय गरेको भए पनि प्राविधिक, बजेटीय र कार्यान्वयन सम्बन्धी चुनौतीका कारण यो प्रक्रिया ढिलो गतिमा अघि बढिरहेको छ ।


























