विद्या भण्डारी बारे प्रचण्ड : चीन भ्रमणपछि एमालेले सदस्यता नवीकरण गरेन

Share this
653shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १२, बिहीबार १०:४६

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता विवाद चीन भ्रमणपछि सुरु भएकाे बताएका छन् ।

नेकपा एमालेकाे सक्रिय राजनीतिमा फर्किएकी भण्डारीकाे सदस्यता नविकरण नगर्ने एमालेले निर्णय गरिसकेकाे छ । बिहीबार विराटनगर विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्ड पूर्वराष्ट्रपति भण्डारीकाे चीन भ्रमणपछि विवाद देखिएकाे बताएका हुन् ।

“विद्याजी जो अहिले सक्रिय राजनीतिमा आउन चाहनु भएको छ,’ प्रचण्डले भने,’त्यो सदस्यता नवीकरण त्यो पार्टीको नेतृत्व केपी ओलीजी कै सहमतिमा भएको हो भन्ने कुरा अब त छर्लङ्ग भएको छ।”

उनले भण्डारीको चीन भ्रमण ओलीकै सहमतिमा भएको र भविष्यमा उनलाई अध्यक्ष बनाउने कुरा पनि दुई नेताबीच चलेको तर चीन भ्रमणपछि के भयो भन्ने आफूलाई जानकारी नभएको बताए । ‘चीन भ्रमण ओलीकै सहमतिले भएको हो, भोलि गएर अध्यक्ष बनाउने कुरा पनि उहाँहरुको बिचमा पहिला चलेको हो,’उनले भने,’तर,पछि चीन भ्रमणबाट आएपछि सायद के भयो उहाँहरुको, त्यहा म जान चाहन्न ।’

उनले विद्या भण्डारीको ‘प्लान बी’ बारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारे। “यो बीचमा विद्याजीसँग कुनै सम्पर्क भएको छैन, कुराकानी भएको पनि छैन,” प्रचण्डले थपे, “अब देशको राजनीति कता कसरी जान्छ भन्ने बारेमा चासो हुनु स्वाभाविकै हो, प्रत्यक्ष परोक्ष कुरा त बुझिएकै छ। अहिलेको गठबन्धन सरकारले जसरी काम गरेको छ, त्योप्रति आम जनतामा आक्रोश पनि छ, असन्तुष्टि पनि छ।”

प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा फर्कनबाट रोक्न नमिल्ने तर्क गरेका छन्। “दुनियाँमा यस्ता धेरै उदाहरणहरू छन् जो राष्ट्रपति भएपछि प्रधानमन्त्री भएका छन्, प्रधानमन्त्री भएपछि फेरि राष्ट्रपति भएका छन्। त्यतिमात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रको अनुभवको कुरा गर्ने हो भने राष्ट्रपति महानगरपालिकाको मेयर भएका उदाहरण पनि विश्वमा धेरै छन्,” उनले भने । उनले नेपालको संविधान, ऐन र कानुनले राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेर कुनै प्रतिबन्ध नलगाएको पनि स्पष्ट पारे ।

प्रचण्डले वर्तमान राजनीतिक अवस्थामा देशको निकासका बारेमा चर्चा परिचर्चा हुनु स्वाभाविक रहेको बताए। उनले आफूले पहिले उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याएपछि त्यसले कतै न कतै प्रत्यक्ष वा परोक्ष रूपमा विद्या भण्डारीका लागि पनि ढोका खोलिदिएको धारणा व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.