महिनावारी बार्न त्रिपालको टहरामा सुतेका २ जनाको ढुंगाले लागेर मृत्यु

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १०:१७

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा महिनावारी बार्नका लागि त्रिपाल टाँगेर बनाएको टहरामा सुतेका २ जनाको ढुंगाले लागेर मृत्यु भएको छ ।

आछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालका अनुसार शुक्रबार बिहानका राति ढुंगा खस्दा त्रिपालको टहराभित्र सुतेका बालिकासहित २ जनाको मृत्यु भएको हो । बालिकाकी आमा घाइते भएकी छन् । प्रहरीका अनुसार अछामलगायतका विभिन्न जिल्लामा महिनावारी भएका बेला महिलाहरुलाई घर बाहिर बनाइएको छाउगोठ वा त्रिपालको टहरामा राख्ने गरिन्छ ।

माथिबाट खसेको ढुंगाले लागेर त्रिपालको टहरामा सुतेका पञ्चदेवल विनायक नगरपालिका–८ की ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका–६ की ७ वर्षीया कविता भण्डारीको मृत्यु भएको डीएसपी खनालले बताए । सुतेका बेला भिरबाट ठूलो ढुंगा खसेर उनीहरुलाई किचेको जानकारी खनालले दिए ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ वर्षीया कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भएकी छन् । अवस्था गम्भीर रहेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि रेफर गरिएको डीएसपी खनालले बताए ।

पञ्चदेवल विनायक –८ का वडा अध्यक्ष छत्रबहादुर शाहीले दिएको जानकारी अनुसार निम र रत्ना महिनावारी बार्नलाई त्रिपालको टहरा बनाएर बसेका थिए । ७ वर्षीया कविता भने टहरामा आमासँगै सुतेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.