नेपाल प्रहरीको ३२ औं आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १२:५४

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ । तर, उनको कार्यकाल भदौ १९ गतेदेखि मात्रै सुरु हुने छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी खापुङ आईजीपी नियुक्त गर्ने निर्णय लिएको हो । हालका प्रहरी महानिरीक्षक दीपक थापा सेवा अवधिका कारण भदौ १८ गते रातिदेखि अवकाशमा जाने छन् ।

सरकारले थापा अवकाशमा जानुअघि नै नयाँ आईजीपीको टुंगो लगाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि चीन भ्रमणमा जान लागेका कारण मन्त्रिपरिषद्ले शुक्रबारकै बैठकबाट खापुङलाई नियुक्त गरेको हो ।

हाल नेपाल प्रहरीको एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) रहेका खापुङ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख छन् । उनी दीपक थापासँगै प्रहरीमा इन्स्पेक्टरमा भर्ना भएका थिए । तर, सोही ब्याचका इन्स्पेक्टरहरूको नियुक्ति ३ चरणमा भएको थियो ।

पहिलो लटमा नियुक्त ५३ जनामध्ये वसन्तबहादुर कुँवर यसअघि नै आईजीपी भएर गत चैतमा ३० बर्से सेवा अवधिका कारण अवकाशमा गएका थिए । दोस्रो लटमा भर्ना भएकामध्येबाट सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा आईजीपी बने थिए ।

थापा भदौ १८ मा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ स्वतः एकल प्रतिस्पर्धी बनेका हुन् । उनका ब्याचका लालमणि आचार्य यसअघि ५६ बर्से उमेर हदले अनिवार्य अवकाशमा गइसकेका छन् भने अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि भदौ १५ मा उमेर हदका कारण अवकाशमा जाने छन् ।

यस्तै, हाल प्रशासन विभाग प्रमुख रहेका पोखरेलको अवकाश निश्चित भएकाले खापुङलाई आईजीपी बन्न सहज बाटो खुलेको हो । अब नयाँ प्रहरी ऐन जारी भएमा खापुङको सेवाअवधि हालको प्रावधानअनुसार ६ महिना थपिनेछ । तर, ऐन नआएमा उनी पनि ३० बर्से सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेदेखि अवकाशमा जानेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.