
विराटनगर । प्रदेश सरकारकाे समन्वयमा मोरङका ४ र इलामका २ पालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने भएका छन् । २ जिल्लाका ६ पालिकाले शुक्रबार कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग फोहोरमैला व्यवस्थापन रणनीतिक साझेदारी सम्झौता गरेका हुन् ।
सम्झाैता अनुसार अब मोरङको रंगेली र सुनवर्षी नगरपालिका तथा कानेपोखरी र धनपालथान गाउँपालिकाले संयुक्त रुपमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी सञ्चालन गर्नेछन् ।
इलामको रोङ गाउँपालिका र सूर्याेदय नगरपालिकाले पनि संयुक्त रुपमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालन गर्नेछन् ।
समझदारी पत्रमा मन्त्रालयको तर्फबाट निमित्त सचिव रमेश श्रेष्ठले र रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल, सुनवर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी, धनपालनाथ गाउँपालिकाका अध्यक्ष जिबछ गच्छदार तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्नामले हस्ताक्षर गरेकी छिन् । इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले हस्ताक्षर गरेकी छिन् ।

सम्झौता अनुसार मोरङका चार पालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र रंगेलीमा निर्माण हुनेछ । फोहोलामैला व्यवस्थापन केन्द्रका लागि रंगेली नगरपालिकाले १ बिघा जग्गा पनि छुट्याएको छ । चार वटा पालिका मुख्यमन्त्री अत्यावश्यक केन्द्र पनि निर्माण भइरहेको छ । इलामका दुई पालिकाको फोहोर व्यवस्थापन केन्द्र सूर्योदय रहनेछ ।
दुई स्थापनमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५–५ करोडका दरले बजेट छुट्याएको छ । प्रदेश समन्वय परिषद् ‘पीएसपी’ २–२ करोड बजेट छुट्याएको छ । अपुग रकम स्थानीय सरकारले छुट्याउनेछन् ।
स्थानीय तहले संयुक्त रूपमा फोहोर व्यवस्थापनका लागि एकीकृत फोहोरमैला प्रशोधन केन्द्र र ल्यान्डफिल साइट निर्माण गर्दा फोहोरकाे पुनः प्रयोग, प्रशोधन र व्यवस्थापन वातावरणमैत्री बनाउने सरकारी लक्ष्य छ । साझेदारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके फोहोरमैला व्यवस्थापन देशमा नमुना बन्न सक्ने भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बताए ।

























