
नैना, बिनु, लिना र म कलेज छुट्टि भएपछि घर फर्कियौँ । नैना र बिनु एउटै कोठामा बस्थे । म र लिना भने आआफ्नो घरमा बस्थ्यौँ ।
‘हिँड साथी हो हाम्रो कोठामा, म मिठो चिया खुवाउँछु’ नैनाले भनी । ‘होस् , तँलाई छुइ भएको छ आज नजाने’ मैले भनेँ । ‘केटी–केटीलाई खुवाउन छुइ भएर के भयो त ? जाऊँ है जाऊँ’ बिनुले भनी ।
म एकछिन घोत्लिएर लिनाको अनुहारमा हेरेँ । लिनाले इसाराले जाऔँ भनी । अनि हामी बिनु र नैनाको कोठामा गयौँ ।
नैनाले चिया र बिस्कुट रमेश र काजी दाइहरूलाई पनि दिइ । २ दाइहरू पनि उनीहरूसँगै एउटै घरमा कोठा लिएर बस्नु हुँदो रहेछ । चारै जनाले खाना चाहिँ एकै ठाउँमा पकाएर खाने रहेछन् ।
नैनाले पर सरेका बेला छोरा मान्छेलाई खानेकुरा दिएको देख्दा मलाई अचम्म लाग्यो । मैले पुलुक्छ बिनुको अनुहारमा हेरेँ । बिनुले इसराले चल्छ भन्ने संकेत गरी ।
मलाई खट्पटी भयो । दाइहरू बाहिर गए । त्यही मौका पारेर सोधेँ, ‘हैन के गरेकी नैना ? पर सरेका बेलामा पनि छोरा मान्छेलाई छोइएको खानेकुरा दिने हो ?’
नैनाले भनी, ‘तिमीहरू बाहुनीको पो के के चलन छ त ? हामी लिम्बूहरूले यस्तो बार्दैनौँ । मेरो संगतका कारण बिनुले पनि बार्दिन । ऊ पनि त बाहुनी हो नि । खै बिनुलाई केही भएको छैन । कहीँ नभएको नानाथरी यही बाहुनीहरूले जानेको छ । महिनावारी त प्रकृतिको वरदान हो । सृजनाको उपहार हो । पहिलेका आमादिदीहरूले भोगेको पीडा अझै तिमीहरू भोगिरहन्छौ ?’
नैनाको कुरा सुनेर मलाई पापको भय भयो । अब बिनुलाई पाप लाग्ने भयो । बिचरी ! नैनाको संगतले पापिनी भइ । तर, बिनुलाई पाप लागेको मैले देखिनँ । बिनु सधैँ हँसिली खुसिली छे । सम्पन्न छे । लिनाले पनि छुइछाई बार्न छोडी । तर, मेरो मनबाट महिनावारीको भय हराएन । छुइछाईको भयले सधैँ कोपरिरह्यो । मेरो छुइछाई हरायो । तर, समाजले भने डर देखाइरह्यो ।
हिजोआज म कसैलाई छुइछाईको भय गराउँदिन । मलाई समाजका मान्छेलाई एउटा प्रश्न सोध्न मन छ, ‘के महिनावारी प्रकृतिको वरदान र सृजनाको उपहार नभए तिमी हुने थियौ ?’

























