
रुपन्देही । रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख (मेयर) सजरुद्दिन मुसलमानको आज (शनिबार) बिहान निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार लामो समयदेखि मुटु रोगबाट पीडित मुसलमानलाई बिहान करिब ९ बजे घरमै हृदयाघात भएको थियो । त्यसलगत्तै उनको निधन भएको परिवारले जनाएको छ ।
मुसलमान नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । नगर प्रमुखको निधनले लुम्बिनी क्षेत्र शोकमा डुबेको छ । नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले मुसलमानको अन्त्येष्टि शनिबार साँझ ५ बजे परम्परागत रूपमा स्थानीय कब्रिस्तानमा गरिने जानकारी दिएका छन् ।
सजरुद्दिन मुसलमानको निधनले लुम्बिनी सांस्कृतिक नगरपालिकाले नेतृत्व गुमाएको छ । स्थानीय राजनीतिको वृत्तमा पनि ठूलो क्षति भएको राजनीतिकर्मीहरु बताउँछन् ।

























