
विराटनगर । वीरगञ्ज महानगरपालिकामा हैजाको प्रकोप फैलिएपछि विद्यालय थप तीन दिनका लागि बन्द हुने भएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा शनिबार बिहान बसेको बैठकले आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कोचिङ सेन्टर र इन्स्टिच्युट बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ८ र ९ गते पहिलो पटक र भदौ ११ देखि १३ गतेसम्म दोस्रो पटक विद्यालय बन्द गरिएको थियो। तर हैजाको सङ्क्रमण अझै नियन्त्रणमा नआएको निष्कर्ष निकाल्दै विद्यालय बन्दको अवधि थपिएको हो ।
महानगरले बन्द अवधिमा विद्यालयहरूलाई शौचालय तथा खानेपानीको ट्यांकी सफा गर्न, क्लोरिन प्रयोग गरी पानी शुद्धीकरण गर्न, स्वास्थ्य संस्थासँग समन्वय गर्न र विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन निर्देशन दिएको छ ।
हैजा नियन्त्रणका लागि महानगरले विभिन्न कदम चालेको छ ।

























