
विराटनगर । मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु भएको छ । ८ महिनाको अवधिमा ८ जनाको मृत्यु भएको हो ।
मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांक अनुसार मृत्यु हुनेमा १ महिला र ७ जना पुरुष रहेका छन् । मोरङ कारागारमा रहेका ७ र जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका १ गरेर राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु ८ महिनाको अवधिमा भएको इन्सेकले जनाएको छ ।
पछिल्लोपटक कारागारमा रहेकी सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराई मृत फेला परेकी थिइन् । महिला कारागारको शौचालयमा पासो लगाएर मृत्यु भएको अवस्थामा भदौ ११ गते शव फेला परेको हो ।
कारागारमा रहेका मोरङको बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्बरबहादुर राईको २०८१ पुस २० गते मृत्यु भएको थियो । त्यसयता कारागारमा रहेका ६ जनाको मृत्यु भइसकेको इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले बताए ।
उनका अनुसार राज्यको सुरक्षा र नियन्त्रण घेरामा रहेकाहरुको निरन्तरको मृत्युले कारागार सुरक्षित भन्दा असुरक्षित हुँदै गएको पुष्टि हुन्छ । मोरङ कारागारमा रहेका पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको २०८१ फागुन २९ गते, उर्लाबारी नगरपालिका–१ का ४३ वर्षीय मित्रकुमार दनुवारको २०८२ वैशाख १५ गते, रामेछापको दोरम्बाशैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रविण तामाङको वैशाख २९ गते, सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको गत असार १० गते र विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको असार २५ गते कारागारमा मृत्यु भएको जानकारी अधिकारीले दिए ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको २०८२ जेठ २० गते मृत्यु भएको थियो । राज्यको नियन्त्रणमा रहेकाहरुको एकपछि अर्को मृत्यु हुँदै गएपछि इन्सेकसहित मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले शुक्रबार मोरङ कारागारको अनुगमन गरेका छन् ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखेरलको नेतृत्वमा बाल अधिकारकर्मी बासु अधिकारी, अधिकारकर्मी शोभा बजगाईसहितको टोलीले जिल्ला कारागारका जेलर गौरव ढुंगेलसँग कारागारको अवस्थाका बारेमा जानकारी लिएको छ । महिला कैदी झुण्डिएको अवस्थामा मृत फेला परेसँगै अरु महिला कैदी तथा थुनुवाहरुमा भय सिर्जना भएको अनुगमनका क्रममा पाइएको छ ।
कारागारको नयाँ भवनमा कैदीहरुलाई स्थानान्तरण गरेपनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेका कारण समस्या हुने गरेको जेलर ढुंगेलले बताए ।

























