अब बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छापिने

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १५, आइतबार १३:०४

काठमाडौं । सरकारले अबदेखि बैंक नोट बाहेकका सबै किसिमका सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटदेखि लिएर लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, स्मार्ट कार्ड र पासपोर्टसम्मका सबै कागजपत्र आगामी दिनमा नेपालकै सुरक्षा मुद्रण केन्द्रमार्फत छापिने जानकारी दिएका हुन् । आइतबार आयोजित अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै मन्त्री गुरुङले अघिसम्म विदेशमा छापिँदै आएको हुलाक टिकटसमेत अबदेखि नेपालमै उत्पादन हुने बताए ।

उनले भने, ‘अब बैंक नोट बाहेक सरकारसँग जोडिएका सबै स्टिकर र कागजपत्र नेपालकै सुरक्षण मुद्रण केन्द्रमा छापिन्छन् । गत वर्षसम्म विदेशमा हुलाक टिकट छापिन्थ्यो । तर, यो वर्षदेखि हामीले त्यसलाई रोकिसकेका छौं ।’

मन्त्री गुरुङका अनुसार हाल कर्मचारी अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनक शिक्षा सामग्री केन्द्रमार्फत छाप्न दिइएको छ । तर, १ साताभित्र आवश्यक कर्मचारी व्यवस्थापन भइसकेपछि यी सबै सामग्री सुरक्षण मुद्रण केन्द्रमै छापिने तयारी रहेको उनले स्पष्ट पारे ।

उनले बैंक नोट छाप्न भने छुट्टै अत्याधुनिक मेसिन आवश्यक पर्ने भएकाले त्यसका लागि अझै विदेशमै निर्भर रहनुपर्ने बताए । साथै, पासपोर्टसहितका महत्त्वपूर्ण कागजपत्र छाप्न मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित निकायहरुले समयमै सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्ने पनि उनले उल्लेख गरे ।

‘परराष्ट्र मन्त्रालयले ६४ लाख पासपोर्ट छाप्नुपर्ने भनेको छ । यस्तो माग कम्तीमा ६ महिना अगाडि नै जानकारी गराउनुपर्छ । सुरक्षण मुद्रण ऐनअनुसार मन्त्रालय, विभाग तथा सरकारी निकायहरुले अनिवार्य रूपमा मन्त्रालयलाई जानकारी दिएर मात्रै कागजपत्र छाप्नुपर्ने व्यवस्था छ, मन्त्री गुरुङले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.