अबदेखि देशभरका १६ कार्यालयबाट इम्बोस्ड नम्बर जडान

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १५, आइतबार १६:५४

काठमाडौं । सरकारले सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय लिएसँगै अहिले देशभर ९ वटा कार्यालयमार्फत यसको जडान भइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार आगामी १ असोजदेखि थप ७ कार्यालयमार्फत पनि सेवा सुरु हुने छ । त्यसपछि देशभरका १६ वटा कार्यालयबाट इम्बोस्ड नम्बर जडान गर्न सकिनेछ ।

हाल बागमती प्रदेशभित्र एकान्तकुना ललितपुर, गुर्जुधारा, हेटौंडा र टेकु तथा गण्डकीमा यातायात व्यवस्था कार्यालय पोखरा, लुम्बिनीमा बुटवल, दाङको तुल्सीपुर र बाँकेको नेपालगञ्ज तथा कर्णालीको सुर्खेतबाट यो सेवा दिन थालिएको छ ।

असोज १ गतेदेखि सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेशमा लहान, बागमतीमा चितवन र कोशीमा इटहरी तथा बिर्तामोडबाट पनि जडान सुरु हुने विभागले जनाएको छ ।

संघ–प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकको निर्णयअनुसार असोज १ देखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ । विभागले सवारीधनीलाई आफूलाई पायक पर्ने समय र कार्यालय गएर यो नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ ।

सरकारको योजनाअनुसार निकट भविष्यमा सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेपछि सवारीसाधनको सम्पूर्ण विवरण ‘डिजिटाइज’ हुनेछ । यसका लागि नेपालभरि मुख्य प्रवेशद्वार वा प्रवेश बिन्दुमा १० वटा आरएफआईडी गेट निर्माण गर्ने तयारी भइरहेको विभागले जनाएको छ । तीमध्ये काठमाडौंका २ स्थानमा गेट निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.