भीषण वर्षापछिको बाढीले दर्जनौं घर डुबानको चपेटामा

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १६, सोमबार १६:४०

कञ्चनपुर । कञ्चनपुरमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ । भीषण वर्षासँगैको बाढीका कारण बस्तीका दर्जनौं घरहरु डुबानको चपेटामा परेका छन् ।

जोगबुढा र महाकाली नदीको बहाव बढेसँगै सशस्त्र प्रहरीका बीओपी (बोर्डर आउट पोस्ट)सहित ५७ घर डुबानमा परेको विवरण प्राप्त भएको छ । डेढ सयभन्दा बढी परिवार विस्थातिप भएका छन् । डुबानमा परेका र विस्थापित भएका परिवारको संख्या बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर जलमग्न भएका छन् । ती परिवारका करिब ७० जनालाई तत्काल उद्धार गरी नजिकैको जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ ।

त्यस्तै, दोधारा चाँदनी नगरपालिका–३ को पटराखल्लामा नदी किनारको बाँध भत्किएर बाढी पस्दा १५ घर डुबानमा परेका छन् । यहाँका ५५ जना विस्थापितलाई चौपायासहित जमुना आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ ।

सोही नगरपालिकाको वडा–१० स्थित शान्ति टोलमा पनि १२ घर डुबानमा परेका छन् । त्यहाँका ४० जनालाई वडा–९ मा रहेको अम्बिका माध्यमिक विद्यालयमा सारिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण सशस्त्र प्रहरीका २ वटा बीओपीसमेत डुबानमा परेका छन् । दोधारा चाँदनी–१० सुन्दरनगरमा रहेको बीओपीमा जोगबुढा नदीको पानी पस्दा कार्यालय परिसर जलमग्न भएको छ ।

त्यस्तै, वडा नम्बर ७ कञ्जभोजमा रहेको अर्को बीओपीमा बाढी पसेको छ । यसबाहेक भीमदत्त नगरपालिका–११ भुजेला क्षेत्रमा पनि ५ घर डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको सतह सतर्कता तह पार गरेको भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार डडेल्धुरास्थित पारि–गाउँ बाढी मापन केन्द्रमा जलसतह ९६.८ मिटर पुगेको छ । जुन सतर्कता तहभन्दा माथि हो ।

आइतबार रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ । सतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक लगाएको छ ।

कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ९५ हजार ४ सय ५० क्यूसेक पुगेको छ। नदीमा बहाव १ लाख क्यूसेक नाघेपछि भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै हरेकपटक आवागमनमा रोक लगाउने गरेको छ ।

बाढीले दोधारा चाँदनी नगरपालिकाका ३ वटा वडामा मात्रै ५७ घर डुबानमा परेका छन् । करिब डेढ सय व्यक्ति विस्थापित भएको प्रहरीको भनाइ छ ।

पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीको नेतृत्वमा प्रभावित क्षेत्रमा टोली परिचालित छ । निरन्तर वर्षा भइरहेकाले नदी किनारका बस्तीहरू अझै उच्च जोखिममा रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.