निजामती कर्मचारीको अवकाश उमेर विवादमा अड्कियो विधेयक

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १६, सोमबार १७:०७

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सोमबार संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विवाद हुँदा विधेयक पारित हुन सकेन ।

निजामती कर्मचारीको अवकाश उमेर निर्धारणको विषयमा विवाद उत्पन्न भएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारीको अवकाश उमेर ५९ वर्ष राख्नुपर्ने सरकारको धारणा राखिन् ।

मन्त्री न्यौपानेको प्रस्तावलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका सांसदहरूले समर्थन गरेका थिए । तर, विपक्षी दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका सांसदहरूले यसअघि सहमति भएका निर्णयलाई उल्ट्याउन नहुने अडान राखेका थिए ।

मन्त्री न्यौपानेले आफू बैठकमा बसे पनि सहमति नभए थप छलफल गर्नुपर्ने धारणा राख्दै बैठक स्थगित गरेर मंगलबारको लागि पुनः बैठक बोलाउन सभापतिसमक्ष अनुरोध गरेकी थिइन् । उनी बाहिरिएपछि विपक्षी सांसदहरूले आपत्ति जनाए ।

एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले सरकारका कारण विधेयक अघि बढाउन ढिलाइ भएको बताए । ‘पहिले नै सहमति भएका विषयलाई बदल्न खोज्नुले सरकारको नियत प्रष्ट देखिएको छैन,’ उनले भने ।

माओवादी सांसद झक्कुप्रसाद सुवेदीले पनि सरकार गम्भीर नभएको र सहमति उल्ट्याउने प्रयास गलत भएको टिप्पणी गरे । समिति सभापति तुलसा दहालले अहिलेसम्म सहमति भएका विषयको प्रतिवेदन सदस्यहरूलाई वितरण गर्न निर्देशन दिँदै मंगलबार बस्ने बैठकबाट निष्कर्ष निकाल्ने आश्वासन दिइन् ।

यसअघि प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवासम्बन्धी ऐन जारी भएको पहिलो वर्ष अवकाश उमेर ५८, दोस्रो वर्ष ५९ र तेस्रो वर्ष ६० वर्ष कायम गर्ने व्यवस्था गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.