
काठमाडौं । विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्टलाई तोकिएको छ । भट्ट यसअघि उच्च अदालत जनकपुरका न्यायाधीश थिए ।
गत साउन ३० गतेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्षको जिम्मेवारी दिन भट्टको नाम प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले भट्टलाई विशेषको अध्यक्ष तोकेको हो ।
मन्त्रिपरिषद्को निर्णय सोमबार सार्वजनिक गरिएको छ । त्यस्तै, विशेष अदालतको सदस्यमा उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश उमेश कोइरालालाई तोकिएको छ ।
अध्यक्ष भट्टसँगै न्याय परिषद्ले गत साउन ३० गते नै चारै जनाको नाम विशेष अदालतको सदस्यमा प्रस्ताव गरेको थियो । नेपालमा कारबाही गरेर खास किसिमका मुद्दाको किनारा छिटो, छरितो तथा प्रभावकारी ढंगले लगाउन २०५९ सालमा विशेष अदालत स्थापना गरिको हो ।


























