
काठमाडौं । लामो समयदेखि अल्झिएको संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।
राष्ट्रियसभाको मंगलबार बसेको बैठकले विधेयकलाई सर्वसम्मत पारित गरेको हो । यसअघि असार १५ मा प्रतिनिधिसभाले विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो । अब दुवै सदनबाट पारित भइसकेकाले यो विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ ।
संविधानले संघीय निजामती सेवा गठन गर्ने प्रावधान गरे पनि आवश्यक कानुनी संरचना अभावमा त्यसको कार्यान्वयन हुन सकेको थिएन । संविधानको धारा ३०२ मा संघीय निजामती सेवा गठन र सञ्चालनका लागि कानुन बनाउनुपर्ने व्यवस्था भए पनि सरकारले पटक–पटक विधेयक ल्याउँदा विवादित बन्दै आएको थियो ।
कर्मचारी समायोजन, तलब भत्ता, पदस्थापन, स्थानान्तरण, बढुवा, र सेवा–सुविधासम्बन्धी विभिन्न प्रावधानका कारण राजनीतिक दल, कर्मचारी संगठन तथा प्रदेशका मागबीच मिलन बिन्दु खोज्नु सरकारका लागि चुनौती बनेको थियो । मंगलबार राष्ट्रियसभामा प्रस्तुत विधेयकबारे छलफल हुँदा सांसदहरुले यसलाई संविधान कार्यान्वयनको दिशामा महत्वपूर्ण कदम भएको बताएका थिए ।
उनीहरूले लामो समयदेखि कर्मचारी प्रशासन अस्थिर बनेको अवस्थाको अन्त्य हुने र प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनमा देखिएको अव्यवस्था समाधान हुने विश्वास व्यक्त गरे । निजामती सेवा सम्बन्धी ऐन नबनेसम्म कर्मचारीलाई पुरानै व्यवस्थाअनुसार चलाइँदै आएको थियो ।
संघीयता कार्यान्वयन भइसके पनि कर्मचारी प्रशासनमा अझै केन्द्रीकृत सोच हावी भएको भन्दै आलोचना हुँदै आएको थियो । यो विधेयकमार्फत संघ, प्रदेश र स्थानीय तहबीच आवश्यक समन्वय गरी कर्मचारी परिचालनको स्पष्ट आधार तय हुने जनाइएको छ ।
विधेयक पारित भएपछि संघीय निजामती सेवाका नाममा छुट्टै संरचना खडा गर्ने बाटो खुलेको छ । यससँगै प्रदेश र स्थानीय तहका लागि समेत छुट्टै निजामती सेवा ऐन बनाउनुपर्ने संवैधानिक बाध्यता पूरा गर्न सजिलो हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कानुन कार्यान्वयनमा आएर निजामती सेवाको नयाँ ढाँचा औपचारिक रुपमा अघि बढ्नेछ ।
यसअघि कर्मचारी संगठनहरूबीच समेत विधेयकका विभिन्न धारा उपधारामा मतभेद देखिँदै आएको थियो । तर अन्ततः सरकार र प्रमुख दलबीच सहमति जुटेपछि विधेयक संसदबाट निर्वाध रुपमा पारित भएको हो । यसले कर्मचारी प्रशासनको दीर्घकालीन स्थायित्व र संघीय शासन प्रणालीलाई थप मजबुत बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

























