फोहर व्यवस्थापन सगरमाथाको मुख्य चुनौती, प्रयोग गर्न थालियो ड्रोन

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १८, बुधबार ०८:२६

विराटगनर । विश्वको सर्वोच्च शिखर सगरमाथामा बढ्दो पर्यटक र आरोहीहरूको चापसँगै फोहर व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखा परेको छ ।

सगरमाथा पर्यटन र आर्थिक दृष्टिले महत्वपूर्ण भए पनि फोहर बढ्दै जाँदा हिमाली क्षेत्रलाई असर पुग्न थालेको छ । यो समस्यालाई समाधान गर्न सगरमाथामा फोहर संकलनमा ड्रोन प्रविधिको प्रयोग सुरु गरिएको छ ।

विद्युतीय सवारी कम्पनी बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इङ्कले नेपालस्थित ड्रोन कम्पनी एयरलिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा ड्रोनमार्फत फोहर संकलन एवं व्यवस्थापन अभियान सञ्चालन गरिरहेको हो । कम्पनीले यसवर्ष सगरमाथा क्षेत्रबाट १ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य राखेको छ ।

साइमेक्स इङ्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठका अनुसार जलवायु परिवर्तन न्यूनीकरण र स्वच्छ वातावरणको प्रवर्धनको दृष्टिकोणबाट फोहोर संकलन अभियान सुरु गरिएको हो । एयरलिफ्ट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेले ड्रोनले झण्डै १५ मिटर प्रति सेकेन्डको गति र १५ डिग्री सेल्सियस चिसोमा काम गर्न सक्ने बताए ।

यसले परम्परागत जोखिम घटाउँदै फोहर व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ । उनका अनुसार विगतमा सगरमाथाको माथिल्लो क्षेत्रमा फोहर ढुवानी गर्न ६–७ घण्टा लाग्थ्यो भने अहिले ड्रोन प्रयोगबाट १–२ मिनेटमै फोहर आधार शिविरमा ल्याउन सकिन्छ । यसले आरोहीहरूका लागि पनि जोखिम कम गरेको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति र खुम्बु पासाङल्हामु गाउँपालिकासँगको सहकार्यमा अभियान सञ्चालन भइरहेको छ । गत वर्ष क्याम्प–१ र अमादब्लम हिमालबाट क्रमशः २ सय ३४ किलो र ६ सय ४१ किलो फोहर संकलन गरिएको थियो ।

यसवर्ष २ सय ८६ किलो फोहर संकलन भइरहेको छ । आगामी दिनमा अमादब्लम र मनास्लुबाट पनि फोहरको योजना बनाइएको छ । नेपाल पर्वतारोहण संघका उपाध्यक्ष मिङ्मा डेभिड शेर्पाले आरोहीहरूले सगरमाथामा फोहर छोड्ने गरेको बताए ।

उनले फोहर व्यवस्थापनमा खर्च र जोखिम बढेको हुँदा ड्रोन प्रविधिले कामलाई सहज बनाएको उल्लेख गरे । उनका अनुसार अबदेखि आरोहीहरूबाट शुल्क लिने र त्यसलाई फोहर व्यवस्थापनमा प्रयोग गर्ने पहल आवश्यक छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.