
काठमाडौं । दर्ता नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू रोक्ने निर्णय सरकारले गरेपछि नेपाल टेलिकम र एनसेलले बिहीबार रातिदेखि ती सञ्जाल बन्द गरेका छन् ।
नेपाल टेलिकमले जारी गरेको सूचनामा सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णय र सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशनअनुसार नेपालमा सूचीकरण नभएका प्लेटफर्म निष्क्रिय गरिएको उल्लेख छ। टेलिकमका अनुसार ती सञ्जालहरू पुनः सञ्चालनमा ल्याउने विषय प्राधिकरणको आगामी निर्देशनमा निर्भर रहनेछ ।
एनसेलले पनि आफ्ना प्रयोगकर्ताहरूलाई सरकारद्वारा रोक लगाइएका सञ्जाल मोबाइल डाटाबाट नचल्ने जानकारी गराउँदै विज्ञप्ति जारी गरेको छ। कम्पनीले यसबाट हुने असुविधाप्रति क्षमा मागेको छ । सरकारले हालसम्म सूचीकरणका लागि नआएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्ने निर्णय गरेको हो ।

























