
ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर (राम राना) सवार गाडी बालिकालाई ठक्कर दिएर भागेको छ ।
मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा बालिकालाई ठक्कर दिएपछि स्थानीयले सडक अवद्ध बनाएका छन् । केहीबेर अवस्था तनावपूर्ण बनेको थियो । नेकपा (एमाले)को विधान महाधिवेशनको कार्यक्रममा सहभागी भएर गोदावरी सम्मेलन हलबाट फर्कने क्रममा मन्त्री मगर चढेको को १ झ ६९९ नम्बरको गाडीले शुक्रबार साँझ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा १४ वर्षीया उषा सुनुवारलाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार ठक्करपछि घाइतेलाई तत्काल अस्पताल पुर्याउनुको सट्टा गाडी लिएर चालक भागेका थिए । घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध गरेका थिए । प्रहरीको सहयोगमा अवरोध हटाइएको थियो ।
बाललिकालाई ठक्कर दिएको गाडी र चालकलाई केही पर पुगेपछि ट्राफिक प्रहरी कार्यालय सातदोबाटोले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार गाडीमा मन्त्री मगर पनि सवार थिए । घाइते बालिकाको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।
बालिकाको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनाले एमालेको विधान महाधिवेशनको कार्यक्रम समेत प्रभावित बनाएको थियो । दुर्घटनाका कारण महाधिवेशनको दोस्रो दिनको कार्यक्रम करिब १ घण्टा ढिलो सुरु भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइते बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने घोषणा गरेका छन् । ‘सामान्यरूपमा १ बच्चीलाई गाडीले छोयो । अस्पताल लगिएको छ । कुनै नियत थिएन । पार्टीले सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु। यस्तो घटना अप्रिय भए पनि कहिलेकाहीँ भइहाल्छ,’ ओलीले भने।
उनले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुर्घटनालाई राजनीतिक मुद्दा बनाउन नहुने धारणा समेत राखेका छन् । घटना आकस्मिक भए पनि ठक्कर दिएपछि मन्त्री सवार गाडी भागेको स्थानीयले बताए ।

























