बालिकालाई ठक्कर दिएर भागेका मन्त्री भन्छन्,‘ तोडफोडको डर थियो’

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २२, आइतबार १२:४१

विराटनगर । ललितपुरमा बालिकामाथि ठक्कर दिएर भागेका कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले सवारी जोगाउनका लागि गाडी घटनास्थलमा नरोकेको बताएका छन् । उनले आफूले गैरजिम्मेवारपूर्ण कार्य नगरेको पनि दाबी गरे ।

नचिनेको स्थानमा सवारी दुर्घटना हुँदा गाडीमा तोडफोड र क्षति हुने डरले नरोकी अगाडि हिँडेको उनको भनाइ छ ।

शनिबार मगर सवार गाडीले ललितपुरको हरिसिद्धिमा एक बालिकालाई ठक्कर दिएको थियो । गाडीले ठक्कर दिएपछि मन्त्री सवार गाडी नरोकी भागेको थियो ।

दुर्घटनाका विषयमा आफूले नै प्रहरीलाई खबर गरेको मन्त्री रानाको दाबी छ ।

‘नयाँ ठाउँ र परिवेश भएकाले गाडी रोक्नु उपयुक्त लागेन । आक्रोशित भिडले गाडीमा आक्रमण हुने डरले प्रहरीलाई खबर गरेको हो ,’ उनले भने,‘ यो सानो दुर्घटना भएको हो । हामी कार्यक्रमतर्फ जाँदै थियौँ । सामान्य गतिमा गाडी अघि बढिरहेको थियो । अचानक एक सानी बालिका गाडीमा अलिकति ठोक्किइन् । तर हाम्रो चालकले तुरुन्तै ब्रेक लगाएकाले ठुलो दुर्घटना भएन ।’

शनिबार बिहान मन्त्री मगर एमालेको विधान महाधिवेशन स्थल ललितपुरको गोदावरीस्थित सनराइज हलतर्फ जाँदै गर्दा हरिसिद्धिमा उनको गाडीले जेब्रा क्रसिङनेरै बाटो काट्न लागेकी एक बालिकालाई ठक्कर दिएको थियो । घाइते बालिकालाई ललितपुरको बी एण्ड बी अस्पतालमा २ घण्टाको उपचारपछि डिस्चार्ज गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.