
विराटनगर । विराटनगरमा जेनजी पुस्ताको आन्दोलन चर्किएको छ । प्रदर्शनकारी विराटनगरस्थित कोशी प्रदेशसभामा पस्न खोजिरहेका छन् ।
प्रहरीले ब्यारिगेट लगाएर रोक्ने प्रयास गरे पनि आन्दोलनकारी जबरजस्ती प्रदेशसभा भवनतिर प्रवेश गर्न खोजेका हुन् । सयौंको संख्यामा रहेका प्रदर्शनकारी पूर्व र पश्चिम दुवैतिरबाट प्रदेशसभातिर बढ्ने प्रयास गरिरहेका छन् । त्यस क्रममा प्रहरीका ब्यारिगेटसमेत तोडफोड गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्न थालेको छ । यो समाचार तयार पार्दासम्म २ शेल अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । ‘अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ प्रहरीले भन्यो ।
त्यस्तै, प्रदर्शनकारीले विराटनगर बजार बन्द गराएका छन् । प्रदर्शनकारीहरु बजार बन्द गराउँदै हिँडिरहेका छन् । यातायात पनि बन्द गराएका छन् । विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन चर्काएका छन् ।
विराटनगरको जलजला चोकमा रहेको प्रहरी बिटमा आगजनी गरिएको छ । विराटनगरमा एउटा मोटरसाइकलमा पनि आगजनी गरिएको प्रहरीले जनाएको छ ।

























