
विराटनगर । विराटनगरमा आन्दोलन चर्काएको जेनजी पुस्ता अहिले कोशी प्रदेशसभा केन्द्रित छ । प्रदर्शनकारी प्रदेशसभा छिर्नै लागेका छन् ।
प्रदर्शनकारीहरु प्रदेशसभाको गेटमा पुगिसकेका छन् । प्रहरीलाई धकेलेर अघि बढेका प्रदर्शनकारीले अब प्रदेशसभा छिर्ने तयारी गरिरहेका हुन् । प्रहरीले पूर्व र पश्चिममा ब्यारिकेट लगाएर आन्दोलनकारीलाई रोक्ने प्रयास गरेको थियो ।
तर, आन्दोलनकारीले ब्यारिकेट नै जलाइदिए । त्यसपछि प्रहरीसँग दोहोरो झडप सुरु भएको थियो । ‘हामी प्रदेशसभा कब्जा गर्ने तयारीमा छौं । गेटनजिक पुगिसक्यौं । प्रहरीले अवरोध गरिरहेको छ । तर, हामी त्यो अवरोध छिचोलेर अघि बढ्दैछौं,’ आन्दोलनमा सहभागी १ युवाले भने ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दजनौं सेल अश्रुग्यास प्रहार गरेको छ । तर, पनि प्रदर्शनकारी अघि बढिरहेका छन् । दोहोरो झडपमा केही सुरक्षाकर्मी र आन्दोलनकारी घाइते भएका छन् ।


























